काठमाडौं । संघीय संसदअन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक मामिला समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ ।
बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुने कार्यसूची छ ।

त्यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो साढे १ बजे बस्दैछ । बैठकमा समितिको कार्यविधि, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल हुने कार्यसूची छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बस्ने कार्यसूची छ ।

बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको ‘सुशासन’ र यस्को प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरिनेछ । बिहान साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै दिउँसो ३ः४५ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानवअधिकारको अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय