
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्ति भएकाले राजीनामा नदिने बताएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशसँगको छलफलमा प्रधानन्यायाधीश जबराले कसैले सडकबाट राजीनामा दे भन्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका हुन् । जबराले फैसला विवादित भएका कारण आफूले राजीनामा दिनुपर्ने भए यसअघि ‘विवादित फैसला’ गरेका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने धारणा राखे।
‘आफू संवैधानिक प्रक्रियाबाट आएकाले संवैधानिक व्यवस्थाअनुसार अगाडि बढ्छु। कसैले सडकबाट राजीनामा दे भन्दैमा राजीनामा दिन्न,’ उनले भने,’ प्रश्न उठेका र विवादित श्रीमान्हरुले राजीनामा दिए आफू पनि दिन तयार छु।’

छलफलका क्रममा प्रधानन्यायाधीश जबराले कसैको प्रभाव र दबाबमा परेर आफूले पदत्याग नगर्ने बताए। जबरासँगको छलफलमा १५ जना न्यायाधीशहरुले प्रधानन्यायाधीशसँग मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए।