
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनु भएको छ ।
संसद पुनसर््थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनु भएको छ ।

सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व प्रधानन्यायाधीश लगायतले राजीनामा मागेपछि प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा चौतर्फी दबावमा परेका बेला विपक्षी दलका नेता ओलीले मंगलबार पार्टीको ७५३ पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै न्यायाधीशहरुले नै सर्वोच्चको मान मर्नन गरेको बताउनुभयो ।
श्रीमान् न्यायाधीशहरुले कस कसले के गर्नु भएको थियो । अलि खुलेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ’एक जना मात्रै होइन परमादेश जारी गर्ने पाँच जनाले सर्वसम्मत फैसला गरेको होइन । एक जना मात्रै किन राजीनामा गर्नु पर्ने भएको छ ? पाँचै जनाले राजीनामा गर्ने होइन? सर्वसम्मत निर्णयको सुगन्ध र दुर्गन्ध के थियो ?’
गत असार २८ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।
उक्त आदेशमा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।