
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा ‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला परेका छन् । नरैनापुर–१ मतहनियाकी ९ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिए ।
उनले बिरामीको एक सातासम्म अस्पतालको आइसीयूमा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको बताए । ‘प्रयोगशाला परीक्षणमा बालिकालाई जापनिज इन्सेफ्लाइटिस भएको पुष्टि भयो’, उनले भने ।

स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर –१ मतहनियाका ९ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको बताए । ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ ।
उनले जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको उल्लेख गरे । चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ ।
सो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ । जापनिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा संकेतकुमार रिसालले बताए ।
यसैबीच भेरी अस्पतालमा झाडाबान्ताका बिरामीका लागि अलग वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरिएको छ । डा खड्काका अनुसार यस्ता वार्डमा तीन जना बालबालिकाको उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।