
हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ ।
प्रदेशसभा बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिने घोषणा गर्नुभएको हो । उहाँले छोटो समयमा नै सम्झनलायक काम गरेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

यसअघि असोज २४ गतेको बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा बुधबार मतदान हुने कार्यसूची थियो । आफूले विश्वासको मत पाउने अवस्था नभएकाले उहाँले राजीनामा दिनुभएको हो ।
शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको नेकपा एमालेको संसदीय दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि उहाँले बहुमत गुमाउनुभएको थियो ।
बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको हो ।
शाक्यले संघीयता बलियो बनाउन लोकतन्त्र पक्षधर दलहरुबीच न्यूनतम समझदारी हुनुपर्ने बताउनुभएको थियो । उहाँले बागमतीलाई विकास र समृद्धिको नमूना प्रदेश बनाउन सकिने बताउँदै साझा प्रयासमा जोड दिनुभयो ।