काठमाडौंका दुई प्रतिष्ठित फर्टिलिटी क्लिनिकमा किशोरीहरूको डिम्ब जबरजस्ती सङ्कलन गरेर निःसन्तान दम्पतीलाई बिक्री गरिएको खुलासा केवल एउटा कानुनी मुद्दा मात्र होइन, हाम्रो समाज, चिकित्सा क्षेत्र र बालअधिकारको गम्भीर विचलनको संकेत पनि हो। कृत्रिम गर्भाधान (IVF) प्रविधिको नाममा १८ वर्षमुनिका किशोरीलाई प्रलोभन देखाएर वा झुक्याएर डिम्ब निकाल्ने कार्य स्वास्थ्यका दृष्टिले घातक मात्रै होइन, गम्भीर नैतिक र कानुनी अपराध हो।

होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र एन्जेल फर्टिलिटी क्लिनिकले गरेको यो कार्यले मेडिकल क्षेत्रप्रति जनविश्वासमा चोट पुगेको छ। एकातिर, निःसन्तान दम्पतीको सन्तान प्राप्तिको चाहनालाई सेवा ठानिएको थियो भने अर्कातिर, त्यो चाहना पूर्तिका लागि किशोरीहरूको शरीरको कारोबार गरिएको तथ्यले हामी सबैलाई लज्जित बनाएको छ।

१५ हजार रुपैयाँको लालचमा डिम्ब सस्तोमा किनेको र त्यसलाई २० लाख रुपैयाँसम्ममा बेचिएको आर्थिक अनुपात हेर्दा, यो प्रकरण केवल व्यापार होइन, मानव तस्करीको नै एक रुप हो भन्ने बुझ्न गाह्रो छैन। किशोरीहरूको शरीर प्रयोग गर्ने, तिनको स्वास्थ्य र भविष्यप्रति कुनै उत्तरदायित्व नलिने, अनि यो सबैलाई ‘चिकित्सा सेवा’ को नाममा लुकाउने जघन्य कार्यको कडा कारबाही हुनु आवश्यक छ।

अझ डरलाग्दो पक्ष त के छ भने, यस्ता गम्भीर अपराधमा संलग्न चिकित्सकहरूलाई अदालतले ‘थुनाबाहिर राखेर अनुसन्धान’ गर्न आदेश दिएको छ। के यस्तो नजिरले भविष्यमा यस्ता अपराधलाई अझै प्रोत्साहन गर्ने खतरा छैन?

सरकार, चिकित्सा परिषद्, प्रहरी र न्याय प्रणालीले यस्ता अपराधका विरुद्ध कडा सन्देश दिनुपर्छ। किशोरीको डिम्ब हत्याउने यो ‘औपचारिक तस्करी’ तत्काल रोक्नका लागि निम्न उपायहरू अपनाउनु आवश्यक छः

सङ्लग्न सबै क्लिनिकहरूलाई तत्काल निलम्बन गर्नु।

स्वास्थ्य मन्त्रालय तथा चिकित्सा परिषद्ले फर्टिलिटी क्लिनिकहरूको व्यापक अनुगमन गर्नुपर्ने।

बालअधिकार उल्लङ्घनअन्तर्गत दोषीहरूलाई कडा कानुनी सजाय सुनिश्चित गर्नु।

नयाँ कानुनी प्रावधान बनाएर १८ वर्षमुनिका बालबालिकाबाट डिम्ब वा शरीरका अंग प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइनु।

आज किशोरीहरूको शरीर बेच्नेहरू सजायबाट उम्किए भने भोलि हाम्रो समाजमा मानव शरीरको मूल्य पैसाले तोकिन थाल्छ। यो केवल कानुनको प्रश्न होइन, हाम्रो सामाजिक नैतिकताको प्रश्न पनि हो। यस अपराधको जड समूल अन्त्य गर्न अब कुनै ढिला गर्नु हुँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय