काठमाडौँ । नेपालमा पछिल्लो समय देखिएका राजनीतिक गतिविधि र जनआक्रोशले राजसंस्थाप्रतिको चासो फेरि सार्वजनिक बहसको केन्द्रमा आउन थालेको छ। गणतन्त्र स्थापनाको झन्डै दुई दशकपछि पनि राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको अपेक्षा पूरा हुन नसकेको भन्दै नागरिक तहमा असन्तुष्टि बढ्दै गएको छ। यही असन्तोषका बीच राजतन्त्र पुनःस्थापनाको चर्चा र शाही खानदानप्रतिको आकर्षण विभिन्न घटनाक्रममार्फत देखिन थालेको हो।

विशेषगरी जेनजी आन्दोलनका क्रममा गणतन्त्रवादी नेताहरूमाथि देखिएको जनआक्रोशले विद्यमान राजनीतिक व्यवस्थाप्रति गहिरो असन्तुष्टि रहेको संकेत दिएको थियो। आन्दोलनका क्रममा नेताहरू सार्वजनिक रूपमा आलोचित मात्र भएनन्, उनीहरूलाई लक्षित नाराबाजीसमेत व्यापक रूपमा सुनिन्थ्यो। सोही समयदेखि पूर्वराजा ज्ञानेन्द्र शाह र उनका नाति हृदयन्द्र शाहको नाममा सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलहरूमा देखिएको ‘साउने क्रेज’ले राजसंस्थाप्रतिको भावनालाई थप उजागर गरेको छ।

गत वर्ष फागुन २५ गते पोखराबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको जनउत्साहलाई धेरैले प्रतीकात्मक घटनाका रूपमा लिएका छन्। विमानस्थलमा शाही वंशको नामसँग जोडेर देखिएको भीड र नाराबाजीले राजसंस्थाप्रतिको आस्था अझै समाप्त नभएको संकेत गरेको विश्लेषकहरू बताउँछन्। यसैगरी, हृदयन्द्र शाहले जुम्ला भ्रमणका क्रममा तयार पारेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिनु पनि उल्लेखनीय घटनाका रूपमा लिइएको छ।

यस्तै, गत वर्ष चैत १५ मा सम्पन्न आन्दोलनले पनि जनतामा राजाप्रतिको सम्मान अझै बाँकी रहेको आभास दिएको थियो। आन्दोलनका क्रममा उठेका नाराहरू र देखिएको जनसहभागिताले गणतन्त्रपछि अपेक्षित परिवर्तन नआएको गुनासो पुनः सतहमा ल्याएको थियो।

यसै सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाहका अभिव्यक्तिहरूलाई पनि चासोका साथ हेरिन थालेको छ। उनले विभिन्न अवसरमा देशको अवस्था प्रति चिन्ता व्यक्त गर्दै आएका छन्। जनताको मागअनुसार राजगद्दी त्यागेको दाबी गर्ने शाहले पछिल्लो समय देश नै नरहन सक्ने अवस्थाप्रति चिन्ता जनाउनु राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ।

विश्लेषकहरूका अनुसार, राजसंस्था फर्किने वा नफर्किनेभन्दा पनि मुख्य प्रश्न गणतन्त्रले जनअपेक्षा किन पूरा गर्न सकेन भन्ने हो। जबसम्म वर्तमान राजनीतिक नेतृत्वले सुशासन र स्थायित्व दिन सक्दैन, तबसम्म राजसंस्थाप्रतिको बहस र आकर्षण कायम रहने उनीहरूको निष्कर्ष छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय