काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २७ ले असन डवलीमा ‘काव्यमय साँझ’ कार्यक्रम आयोजना गर्दै साहित्यिक तथा सांस्कृतिक परम्परालाई पुनर्जीवन दिने प्रयास गरेको छ । विश्व कविता दिवसको अवसर पारेर सम्पन्न कार्यक्रममा १२ जना महिलासहित ३३ जना कवि–कवियत्रीले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रशासक, पूर्वप्रशासक, चिकित्सक, व्यापारीदेखि स्थानीयबासीसम्मको सहभागिता रहेको थियो । कविता, गीत, गजल र नजमजस्ता विधाहरू नेपाली, अंग्रेजी, उर्दू, हिन्दी, संस्कृत तथा नेपाल भाषामा प्रस्तुत गरिँदा कार्यक्रम बहुभाषिक र बहुसांस्कृतिक बनेको थियो ।

कार्यक्रम उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘बादल’ शीर्षकको कविता वाचन गर्नुभयो । उहाँले भावना र जीवनबीचको सम्बन्धलाई उजागर गर्दै डवली संस्कृतिले काठमाडौँको साहित्यिक तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । साथै, डवली परम्परालाई पुनर्जीवन दिने वडा २७ को पहल प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।
वडाध्यक्ष योगेश खड्गीले रसयुक्त साहित्य सिर्जना र प्रस्तुतिले दिने आनन्द अनुपम हुने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । “यो दोस्रो संस्करण हो, पहिलो कार्यक्रम रानीपोखरी परिसरमा गरेका थियौँ,” उहाँले भन्नुभयो, “सिर्जनात्मक अभिव्यक्तिका लागि डवली उपयुक्त स्थल भएकाले यहाँ कार्यक्रम आयोजना गरेका हौँ ।”
वडा सदस्य सृष्टि कंसाकार तुलाधरले पनि शब्दमार्फत व्यक्त गर्न नसकिने भावनालाई प्रस्तुत गर्दा दर्शकले गहिरो अनुभूति गर्ने बताउँदै कार्यक्रम सफल भएको उल्लेख गर्नुभयो ।
कवि तथा चलचित्र समीक्षक प्रकाश सायमीले विश्व कविता दिवस सन् २००२ देखि कवि र समाजबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले मनाइँदै आएको जानकारी दिँदै यस्ता खुला साहित्यिक कार्यक्रमले सिर्जनशीलता प्रवर्द्धन गर्ने बताउनुभयो ।

