कुनै पनि राष्ट्रको समृद्धि, प्रतिस्पर्धात्मक क्षमता र आत्मनिर्भर भविष्यको आधार उच्च शिक्षा हो। दक्ष जनशक्ति उत्पादन, अनुसन्धान, नवप्रवर्तन र ज्ञानको विस्तार विश्वविद्यालयकै मूल जिम्मेवारीभित्र पर्छ। शिक्षक, डाक्टर, इन्जिनियर, वैज्ञानिक र प्रशासकजस्ता राष्ट्रनिर्माणका आधारस्तम्भ विश्वविद्यालयबाटै तयार हुन्छन्। तर नेपालमा उच्च शिक्षाको यो आदर्श लामो समयदेखि कमजोर बन्दै गएको यथार्थ लुकाउन सकिँदैन।

वर्षौंदेखि विश्वविद्यालयहरूमा देखिएको राजनीतिक हस्तक्षेप, दलीय भागबन्डा र स्वार्थकेन्द्रित नियुक्तिले प्राज्ञिक वातावरणलाई कमजोर बनाएको छ। कतिपय विश्वविद्यालय ज्ञान उत्पादनको केन्द्रभन्दा पनि अनुत्पादक राजनीति गर्ने अखडा बने भन्ने आलोचना असत्य होइन। यसले उच्च शिक्षाको गुणस्तर खस्किनुका साथै बेरोजगार उत्पादन गर्ने संरचनाका रूपमा विश्वविद्यालयलाई चित्रित गरायो।

यही पृष्ठभूमिमा सरकारले आठ वटा विश्वविद्यालयका उपकुलपति छनोटका लागि ल्याएको एकीकृत कार्यविधि सकारात्मक सुरुआतका रूपमा लिन सकिन्छ। अब उपकुलपति बन्न विद्यावारिधि, अनुसन्धान तथा प्राज्ञिक क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव, व्यवस्थापकीय क्षमता र राजनीतिक दलको सक्रिय सदस्य नभएको योग्यता आवश्यक हुने व्यवस्था गरिएको छ। यो कदमले विश्वविद्यालयलाई दलीय प्रभावबाट मुक्त गर्दै योग्यता र क्षमताको आधारमा नेतृत्व चयन गर्ने आधार तयार गरेको छ।

छनोट प्रक्रियामा आवेदकको पहिचान गोप्य राख्ने, सोचपत्र र रणनीतिक कार्ययोजना मूल्यांकन गर्ने प्रावधानले निष्पक्षताको विश्वास अझ बलियो बनाएको छ। नाम, पहुँच वा राजनीतिक सम्बन्धका आधारमा होइन, दृष्टि, क्षमता र उपलब्धिका आधारमा नेतृत्व चयन गर्ने अभ्यास सफल भए यसले उच्च शिक्षामा दीर्घकालीन परिवर्तन ल्याउन सक्छ।

तर केवल कार्यविधि बनाउँदैमा विश्वविद्यालय सुधार पूरा हुँदैन। योग्य, स्वाभिमानी र दूरदर्शी प्राज्ञिक व्यक्तित्वहरू स्वयं पनि नेतृत्व लिन तयार हुनुपर्छ। विश्वविद्यालय बिग्रियो भनेर बाहिरबाट आलोचना मात्र गरेर परिवर्तन सम्भव हुँदैन। सुधारका लागि सक्षम व्यक्तिहरू आफैं मैदानमा उत्रिन आवश्यक छ।

यो प्रक्रिया नेपालको उच्च शिक्षा सुधारको एउटा महत्त्वपूर्ण मोड बन्न सक्छ। यदि निष्पक्षता कायम रह्यो भने विश्वविद्यालयहरू फेरि ज्ञान, अनुसन्धान र राष्ट्रिय विकासका विश्वासिला केन्द्र बन्न सक्नेछन्। अब चुनौती कार्यविधि बनाउनुमा होइन, त्यसको इमानदार कार्यान्वयनमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय