काठमाडौं उपत्यकाको चक्रपथ विस्तार आयोजनाको दोस्रो खण्ड लामो समयदेखि अलपत्र पर्दा राजधानीवासीले धुलो, हिलो, ट्राफिक जाम र अव्यवस्थित सडकको सास्ती भोगिरहेका छन्। विकास निर्माणमा भएको ढिलाइले सहरको सौन्दर्य मात्र होइन, जनजीवन र वातावरणमा पनि नकारात्मक प्रभाव पारेको छ। यस्तो निराशाजनक अवस्थाबीच ललितपुरको सानेपा क्षेत्रले भने हरियालीमार्फत सकारात्मक सन्देश दिएको छ।
करिब सात वर्षअघि ललितपुर महानगरपालिकाले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा सडक किनारमा रोपेका वृक्षहरू आज घना भएर सहरलाई हराभरा बनाएका छन्। यसले योजनाबद्ध वृक्षारोपण र नियमित संरक्षणको प्रतिफल कस्तो हुन्छ भन्ने स्पष्ट देखाएको छ। हरियालीले सडकलाई आकर्षक बनाउनुका साथै बढ्दो गर्मीमा शीतलता प्रदान गरेको छ। पैदलयात्री, स्थानीय बासिन्दा र यात्रुहरूलाई केही समय विश्राम गर्ने सहज वातावरण पनि सिर्जना भएको छ।

काठमाडौं उपत्यका बढ्दो वायु प्रदूषण, तापक्रम वृद्धि र खुला हरित क्षेत्रको अभावबाट पीडित छ। यस्तो अवस्थामा सडक, नदी किनार र सार्वजनिक स्थानमा व्यवस्थित वृक्षारोपण गर्नु सौन्दर्यका लागि मात्र होइन, जनस्वास्थ्य र वातावरण संरक्षणका लागि पनि अत्यावश्यक छ। ललितपुर महानगरपालिकाले हरियाली विस्तारलाई दीर्घकालीन योजनासँग जोड्नु र निजी क्षेत्रको सामाजिक उत्तरदायित्वमार्फत पनि वृक्षारोपणलाई प्रोत्साहन गर्नु स्वागतयोग्य कदम हो।
अब सानेपाको अनुभवलाई उपत्यकाका अन्य क्षेत्र तथा देशका अन्य सहरमा पनि विस्तार गर्न आवश्यक छ। विकास निर्माण भनेको केवल सडक र पुल बनाउनु मात्र होइन, त्यससँगै वातावरणीय सन्तुलन कायम राख्नु पनि हो। चक्रपथ विस्तारको काम शीघ्र सम्पन्न गर्दै सडकलाई हरियालीसँग जोड्ने नीति अपनाइयो भने राजधानी अझ सुन्दर, स्वच्छ र बस्नयोग्य बन्न सक्छ। सानेपाले देखाएको हरित नमुनाबाट सम्बन्धित सबै निकायले प्रेरणा लिनु आजको आवश्यकता हो।

