कञ्चनपुरमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत निर्माण भएका नहरमा पानी नपुग्दा राज्यको ठूलो लगानी उपयोगविहीन बनेको छ। पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन आवश्यक संरचना तयार भइसकेका छन्। ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ बितिसकेको छ। किसानको खेतसम्म पानी पुर्‍याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भएका छन् भने आठवटा निर्माणको अन्तिम चरणमा छन्। तर, भारतीय पक्षले टनकपुरबाट पानी नछाड्दा किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन्।

यो अवस्था विकास निर्माणमा देखिएको विडम्बनाको एउटा उदाहरण हो। राज्यले अर्बौँ रुपैयाँ खर्च गरेर सिँचाइका संरचना निर्माण गर्ने, किसानले पानी पाउने आशामा वर्षौँ कुर्ने तर छिमेकी मुलुकसँगको सहमतिअनुसार पानीसमेत उपलब्ध नहुनु सामान्य विषय होइन। चार वर्षअघि नहर परीक्षणका क्रममा टनकपुरबाट पानी ल्याएर धान दिवससमेत मनाइएको थियो। त्यसपछि भने नहरमा नियमित पानी सञ्चालन हुन सकेको छैन। संरचना तयार भएर पनि उपयोगमा आउन नसक्नुले आयोजना व्यवस्थापन र अन्तरदेशीय समन्वय दुवैमा प्रश्न उठाएको छ।

महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले हिउँदमा ३०० क्युसेक र वर्षायाममा एक हजार क्युसेक पानी पाउनुपर्ने व्यवस्था छ। भारतीय पक्षले नेपाल सीमासम्म निर्माण गर्नुपर्ने एक हजार २०० मिटर नहरसमेत निर्माण गरिसकेको अवस्थामा पानी सञ्चालनमा भइरहेको ढिलाइको औचित्य स्पष्ट हुन आवश्यक छ। आयोजना कार्यालयका अनुसार टनकपुरस्थित नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) का कर्मचारीले दिल्लीबाट आदेश आएपछि पानी छाड्ने जवाफ दिँदै आएका छन्। यसले प्राविधिकभन्दा पनि प्रशासनिक र कूटनीतिक तहमा समस्या रहेको संकेत गर्छ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरण राष्ट्रिय गौरवको आयोजना हो। आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको आयोजनाले पर्याप्त बजेट अभावका कारण लामो समय अपेक्षित गति लिन सकेन। आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि निर्माणले गति लिएको हो। हालसम्म १० अर्ब ७४ करोड रुपैयाँ खर्च भइसकेको छ भने चालु आर्थिक वर्षमा करिब दुई अर्ब रुपैयाँ विनियोजन गरिएको छ। आयोजना सम्पन्न भएपछि कैलाली र कञ्चनपुरका ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने लक्ष्य छ। यस्तो महत्वको आयोजनामा निर्माण भएको संरचनालाई पानीविहीन राख्नु सार्वजनिक स्रोतको सदुपयोगको दृष्टिले पनि उचित होइन।

नेपाल र भारतबीच महाकाली नदीको पानी बाँडफाँट तथा उपयोगका विषयमा भएको सन्धि कार्यान्वयन दुवै देशको जिम्मेवारी हो। सन्धिमा उल्लेख भएका प्रावधान व्यवहारमा कार्यान्वयन नभएसम्म सम्झौताको औचित्य स्थापित हुन सक्दैन। नेपालले आफ्नो अधिकारका विषयमा स्पष्ट अडान राख्नुपर्छ। प्राविधिक तहमा हुने छलफलले मात्र समस्या समाधान नहुने देखिएपछि अब सरकारी र कूटनीतिक तहबाट ठोस पहल आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय