काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारको सुधारका लागि धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई ११ बुँदे निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरूलाई स्वागत गर्न आयोजित कार्यक्रम अर्थमन्त्री शर्माले खुल्ला प्रतिस्पर्धाबाट छनौट भएर आएका नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न निर्देशन दिनुभयो । उहाँले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजी बजारबाट आउने वातावरण सृजना गर्न पनि निर्देशन दिनुभयो ।

अर्थ मन्त्री शर्माले पुँजी बजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उद्देश्यले दुवै निकायमा नयाँ नेतृत्व छनौट गरेको उहाँले प्रस्ट पार्नुभयो । अर्थमन्त्री शर्माले पुँजी बजारमा लगानी भएको पैसा ठुला परियोजनामा आउने वातावरण सृजना गर्नुपर्ने समेत बताउनुभयो ।

उहाँले नयाँ नेतृत्वले मुलुकको पुँजी बजारलाई सुधार गरी नयाँ ठाउँमा पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले इन्साइडर ट्रेडिङ , पम्प एड डम्प र सर्कुलर कारोबार जस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पुँजी बजारमा नदेखिन गरी काम गर्न दूबै निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

‘म मन्त्रालयमा आउनासाथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर ट्रेडिङ जस्ता विकृत कारोबारका विषयमा कसैले आधिकारिक रूपमा केही भनेको थिएन । म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ’ उहाँले भन्नुभयो, ‘त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन ।’

उहाँले साना लगानीकर्ताको पुँजी बजारमा प्रवेश गराउने, अहिले कारोबार गरिरहेका साना लगानीकर्तालाई सुरक्षित गर्ने, ओटिसी बजारलाई प्राथमिकता दिने, नेप्से र धितोपत्र बोर्डबिच आपसी तालमेल गर्ने, सेयर सूचीकरणमा आउन नसकेका कम्पनीलाई सहजीकरण गर्ने, ब्रोकरको क्षमता बढाउन गर्ने लगायतका कार्य गर्न पनि निर्देशन दिनुभयो । कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजी बजारलाई सकारात्मक बाटोमा डोर्‍याउने विश्वास लिएको बताउनुभयो ।

त्यस्तै राजस्व सचिव कृष्णहरि पुष्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमीकमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताउनुभयो ।धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर सेयर लगानीकर्ताहरूलाई सु–सूचित गर्ने बताउनुभयो । नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय