विराटनगर । मोरङ र झापा जिल्लालाई जोडने रतुवा खोलाको पुल मापदण्ड अनुसार नबन्दा बनेको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

खोलाको लम्बाई अनुसार पुल नबन्दा अहिले पुल खोलाको बीचमा छ भने पुलको दुवैतिर भगांलो भएर खोला बगिरहेको छ । पुल प्रयोगविहीन भएपछि मोरङ र झापाका मानिसहरूलाई खोला तर्न दुवै भंगालामा दुई वटा डुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता छ । निमार्ण भएको ९ वर्ष बितिसक्दा पनि पुल सञ्चालनका लागि कसैले चासो नदिँदा आवतजावतमा समस्या भएको स्थानीयको गुनासो छ ।

रतुवामाई नगरपालिका–१ कल्याणपुरका लक्ष्मी प्रसाद खडकाले खोलाको बीचमा बनाएको पुल सञ्चालनका लागि कसैले पनि चासो नदिँदा मोरङ र झापाका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको बताउनुभयो । आफूले देखेको बेलादेखि पुल मात्र नभई पुल जोड्ने पश्चिम तर्फको सडकको पनि अवस्था उस्तै समस्या रहेको उहाँको भनाई छ ।

अर्का स्थानीय मिना खड्का आफ्ना इष्टमित्र सबै झापातिर भए पनि खोलामा बाढी आउँदा त्यहाँ पुग्न नसकिने भएकाले चाँडै पुल सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो ।

करोडौँ रुपैयाँ लगानीमा बनाइएको पुल प्रयोगविहीन हुँदा सर्वसाधारण खोला वारपार गर्दा डुङ्गामा प्रतिव्यक्ति २० रुपैयाँ, मोटरसाइकलसहित ५० रुपैयाँ, र साइकलसहित ३० रुपैयाँ तिर्न बाध्य छन् । खोलामा ठुलो बाढी आउँदा डुङ्गा समेत चल्ने अवस्था हुँदैन ।

विराटनगरदेखि झापाको भद्रपुर जोडने उक्त पुल सञ्चालनमा ल्याउन सके आवतजावतमा सहज हुने र दुवै जिल्लामा आर्थिक गतिविधि बढ्ने निश्चित छ । हुलाकी राजमार्गको मेरुदण्डको रुपमा रहेको पुल त्यस क्षेत्रका मानिसहरूको भाग्य र भविष्यसँग जोडिएको छ ।

रतुवामाइ नगरपालिका ४ का नरेन्द्र प्रसाद गुरागाईँले ठुलो लगानी बनाइए पनि पुल सञ्चालन नहुँदा विकासमा अवरोध सृजना भएको बताउनुभयो । रतुवा खोलाको पुल सञ्चालनका लागि त्यस क्षेत्रका पालिकाहरूले पटक पटक आग्रह गरे पनि धेरै बजेटको आवश्यकता पर्ने भएकाले सुनवाइ हुन सकेको छैन ।

रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वर प्रसाद सिंहले आफु पालिकाको प्रमुख हुनु अघिदेखि नै पुल सञ्चालनका लागि सम्बन्धित निकायमा पटक पटक पहल गर्दा पनि चासो नदिइएको गुनासो गर्नुभयो ।

बाढीले निरन्तर कटान गर्ने गरेकाले पुल खोलाको बीचमा पुगेको र खोलाले धार परिवर्तन गरी पुलको पूर्व पश्चिम भएर बग्न थालेको स्थानीयहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय