काठमाडौँ । चौतर्फी दबाब र पार्टीभित्रै अनुसन्धानको आवाज बलियो हुँदै गएपछि नेपाली कांग्रेसका उपसभापति तथा संघीय सांसद धनराज गुरुङमाथि पनि सरकारले छानबिनको प्रक्रिया सुरु गरेको छ । सोहीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सहकारीको रकम अपलचनको विषयमा गुरुङसँग बुधबार करिब ५ घन्टा बयान लिएको छ ।
गुरुङलाई ब्युरोमै बोलाएर प्रहरीले मितेरी सहकारीको १४ करोडभन्दा बढी रकम हिनामिनाको विषयमा घटना विवरणको बयान कागज गराएको हो । गुरुङसँग प्रहरीले उनकी पूर्वपत्नी ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋणलगायतका बारेमा सोधपुछ गरेको थियो । धनराजले मितेरी सहकारीमा तिरेको भनिएको ऋणका बारे प्रष्टीकरण दिए भने आफू सहकारीमा जोडिनु र पत्नीसँग भएको सम्बन्धविच्छेदका बारेमा समेत बयान दिएका थिए ।

५ घन्टासम्म चलेको बयानमा गुरुङले आफूमाथि लागेका आरोपहरू निराधार रहेको भन्दै प्रहरीको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाए । मितेरी सहकारीको बचत हिनामिनामा गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएकाले धनराज पनि विवादमा तानिएका हुन् । धनराजमाथि सहकारी ठगीबाट जोगिन पत्नी ज्योतिसँग नक्कली डिभोर्स गरेको आरोप लाग्दै आएको छ । संसदीय छानबिन समितिका सभापति सूर्य थापाले पनि सहकारी ठगीबाट जोगिन नक्कली डिभोर्सका घटना देखिएको भन्दै गुरुङप्रति लक्षित अभिव्यक्ति दिएका थिए । तर, गुरुङले बयानका क्रममा आफ्नो डिभोर्स नक्कली नरहेको दाबी गरे ।

