काठमाडौं । गणतन्त्र स्थापना भएपछि सरकारी कार्यालयका कार्यकक्षमा पूर्वराजा वा राजपरिवारसँग सम्बन्धित तस्बिर राख्ने अभ्यास लगभग हराइसकेको अवस्थामा गृहमन्त्री सुधन गुरुङको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखिएको छ।

गृहमन्त्री गुरुङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरसँगै पृथ्वीनारायण शाहको तस्बिर राखिएको देखिएको हो। कार्यकक्षको अर्को भागमा ‘जेन–जी’ आन्दोलनका क्रममा रगताम्य भएको जुत्ताको तस्बिरसमेत राखिएको छ।

गणतन्त्र स्थापना भएपछि पूर्वराजा तथा राजपरिवारसँग जोडिएका तस्बिर सरकारी कार्यालयबाट हटाउने तथा उनीहरूको नाममा रहेका विभिन्न संरचना र स्थानको नाम परिवर्तन गर्ने अभियान चलेको थियो। त्यसयता सरकारी कार्यालयका कार्यकक्षमा पूर्वराजाका तस्बिर देखिनु असामान्य मानिँदै आएको छ।

यस्तो अवस्थामा गृहमन्त्रीको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखिएपछि यो विषय राजनीतिक वृत्तमा चर्चामा आएको हो।

नेपाली सेनाले भने पृथ्वीनारायण शाहलाई ‘राष्ट्र निर्माता’ का रूपमा सम्मान गर्दै उनको तस्बिर राख्दै आएको छ। प्रधानसेनापतिको कार्यकक्षदेखि सेनाका विभिन्न अडिटोरियम तथा कार्यालयमा पृथ्वीनारायण शाहका तस्बिर देखिन्छन्।

तर, अन्य सरकारी निकाय तथा संस्थाका मन्त्री वा उच्च अधिकारीका कार्यकक्षमा यसरी पृथ्वीनारायण शाहको तस्बिर राखिएको दृश्य विरलै देखिन्छ। गृहमन्त्रीको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखिनुलाई कतिपयले नेपालको इतिहास र राष्ट्र निर्माणसँग जोडिएको सम्मानका रूपमा हेरेका छन् भने गणतन्त्रपछिको राजनीतिक सन्दर्भमा यसको प्रतीकात्मक अर्थबारे बहससमेत सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय