काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताउनुभएको छ । बिहीबार नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा क्युआर कोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । फोन पे र प्रभु बैंकको सहकार्यमा ‘क्युआर कोड’ भुक्तानी सुरु गरिएको हो ।

विद्युतीय माध्यमको फाइदा धेरै भएकाले डिजिटल प्रविधिबाट भुक्तानी गर्दा समय बचतसँगै रकम लेनदेनसम्बन्धी अनेकन झन्झटबाट मुक्त हुने गभर्नर अधिकारीले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘आज हामीले क्युआर कोडको उद्घाटन गरिरहेका छौं, विद्युतीय माध्यमको फाइदा धेरै छ, अझ क्युआरको फाइदा धेरै छ, समयको बचत छ, काउन्टरमा बस्ने व्यक्तिलाई पैसा दिइराख्दा पैसा गन्नुपर्छ, च्यातिएको छ कि छैन हेर्नुपर्छ, एउटा ट्रान्जेक्सन सेटल हुन समय लाग्छ, क्युआरबाट किन्यौं, केही झन्झट छैन, क्यासको कारोबारमा बैंकसम्म पुग्नुपरेन, एकजनासँग कारोबार गर्दा क्युआरबाट पाँचजनासँग कारोबार गर्न सकिन्छ, डिजिटल फाइनान्सियल सर्भिसलाई इग्नोर गरेमा कहिल्यै पनि अघि बढ्न सम्भव हुँदैन । राष्ट्र बैंकले यसलाई प्रोत्साहित गरिरहेको छ, सबैले आफ्नो ठाउँबाट काम गर्ने हो भने डिजिटल नेपालको अभियान चाँडै नै पूरा गर्नेछांै ।’

उहाँले निकट भविष्यमै बैंक तथा वित्तीय संस्थाले विद्युतीय भुक्तानी गरेकै आधारमा विद्युतीय कारोबारको विवरण हेरी सोही आधारमा ग्राहकलाई बिनाधितो कर्जा दिने वातावरण बन्न सक्ने पनि बताउनुभयो ।

गत वर्ष पुस १० मा नक्साल तरकारी बजारबाट पहिलोपटक सुरु भएको क्युआर कोड भुक्तानी अभियानले नगद कारोबारलाई विस्थापित गर्दै लगेको उहाँले बताउनुभयो । राष्ट्र बैंकबाट सञ्चालन अनुमति पाएका १० भुक्तानी सञ्चालक, २८ भुक्तानी प्रदायक संस्था र बैंकहरूको सहकार्यमा सरकार र राष्ट्र बैंकले लिएको ‘डिजिटल नेपाल’ को लक्ष्य पूरा हुँदै गएको उहाँको दाबी छ ।

कार्यक्रममा नगद कारोबार गर्दा भुक्तानी गरिने काउन्टरदेखि बैंकमा नगद जम्मा गर्न जानुपर्दा समय बढी खर्च हुनुका साथै पैसाको गुणस्तरका कारणले पनि भुक्तानीमा समस्या भइरहेको हुन्छ । सो कारणले उपलब्ध भएको स्थानमा विद्युतीय भुक्तानी गर्दा उल्लेखित सबै समस्या समाधान हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय