काबुल । अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार जानकारी गराएका छन् ।

प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, ‘मंगलबार राति पाकिस्तानले पक्तिका प्रान्तको बरमल जिल्लामा चार स्थानमा बमबारी गरेको थियो। मृत्यु हुनेको कुल संख्या ४६ पुगेको छ, मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।’

उनका अनुसार घटनामा अन्य ६ जना घाइते भएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै अफगान भूमिमा पाकिस्तानले गरेको पछिल्लो आक्रमणको निन्दा गर्दै यसलाई ‘बर्बर’ र ‘स्पष्ट उत्तेजना’ भनेको छ ।

सरकारमा रहेका तालिवान अधिकारीहरूको नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘इस्लामिक इमिरेट्स (अफगानिस्तान) ले यो कायरतापूर्ण कार्यलाई अनुत्तरित छोड्ने छैन, अफगानिस्तान आफ्नो भू–भाग र सार्वभौमिकताको रक्षालाई आफ्नो अविभाज्य अधिकार ठान्छ।’

गत मार्चमा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा आठ जना सर्वसाधारणको मृत्यु भएको तालिवान अधिकारीले जनाएका थिए ।

बरमालनिवासी मलीलले मंगलबारको आक्रमणमा एकै परिवारका १८ जनाको मृत्यु भएको बताए । उनले भने, ‘बमबारीले दुई–तीन वटा घरमा क्षति पुर्यायो, एउटा घरमा पूरै परिवारसहित १८ जनाको मृत्यु भएको छ ।’

अर्को घरमा भएको आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी उनले दिए ।

सन् २०२१ मा तालिवान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबीच सीमा तनाव बढेको छ भने पाकिस्तानले आफ्नो पश्चिमी सीमा क्षेत्रमा लडाकू हिंसाको पुनरुत्थानसँग जुधिरहेको छ ।

इस्लामाबादले काबुलका तालिवान अधिकारीहरूले लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ र उनीहरूलाई पाकिस्तानी भूमिमा दण्डहीनताका साथ आक्रमण गर्न अनुमति दिएको छ।

काबुलले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का नामले चिनिने र आफ्ना अफगान समकक्षीसँग साझा विचारधारा राख्ने पाकिस्तानी तालिबानले गत साता अफगानिस्तानसँग सीमा जोडिएको सेनाको चौकीमा आक्रमण गर्दा १६ सैनिकको मृत्यु भएको पाकिस्तानी गुप्तचर अधिकारीहरूले बताएका थिए ।

अफगान भूमिमा भएको पछिल्लो आक्रमणबारे पाकिस्तानी अधिकारीहरूले कुनै आधिकारिक टिप्पणी गरेका छैनन् ।काबुलको भ्रमणमा रहेका अफगानिस्तानका लागि पाकिस्तानका विशेष दूतसँग तालिबानका उच्च अधिकारीहरूले मंगलबार भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय