काठमाडौँ । १५ चैतमा तिनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा सुरक्षा संयन्त्रमाथि औँला ठडिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (मंगलबार) गर्न लागेको प्रदर्शन तथा आमसभालाई शान्तिपूर्ण बनाउने तयारी गरिएको छ ।

राप्रपाले आज काठमाडौँको बल्खुमा आमसभा गर्दै छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यका साथ राप्रपाले जुलुससहित आमसभा गर्न लागेको हो । राप्रपाको आमसभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले पनि आफ्नो सक्रियता बढाएका छन् ।आज बल्खुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी ३ निकायका सुरक्षाकर्मीहरू खटिने छन् । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् । सोहीअनुसार सुरक्षा रणनीति बनाएर परिचालन गरिने भएको छ ।

बल्खुको सभाका लागि २ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने तयारी छ भने भने आवश्यकताअनुसार सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खटाउने तयारी गरिएको छ । यसका साथै सिसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । राप्रपाको प्रदर्शन लक्षित ३ वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले संयुक्त बैठक राखेका थिए । बैठक विशेष गरी राप्रपाले आज गर्न लागेको प्रदर्शनमा सुरक्षा रणनीतिबारे केन्द्रित थियो ।

प्रदर्शन अवधिलाई मध्यनजर गर्दै आजका लागि सवारीसाधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ । जसअनुसार खसीबजार–मकालु–कलंकी चोक–बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ । त्यस्तै, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने बताइएको छ । कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय