काठमाडौँ । भिजिट भिसा प्रकरणमा आफू र आफ्नो सचिवालयका कर्मचारीको नाम मुछिएपछि गृहमन्त्री रमेश लेखक चर्को नैतिक दबाबमा परेका छन् । पार्टीभित्र र बाहिरबाट उनको राजीनामाको माग बढ्दै गएपछि उनी दबाबमा परेका हुन् । यो प्रकरणले बिस्तारै सडक तात्दै जान थालेपछि र सदनमा समेत प्रतिपक्षी दलहरूले राजीनामा माग गर्ने पूर्वसंकेत पाएपछि सत्तारुढ दलका नेताहरूलाई टाउको दुखाइको विषय बनेको छ ।
भिजिट भिसा प्रकरणले पुनः सत्तारुढ गठबन्धनको भविष्यमाथि नै प्रश्न उठ्ने भएपछि नेताहरूको दौडधुप पनि बढेको हो । गत बुधबार अख्तियारले भिजिट भिसामा सेटिङ गरी दैनिक लाखौँ रुपैयाँ असुली गरेको आरोपमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लियो । उनी पक्राउ परेपछि अध्यागमनका उनीसहित १५ जनाको सरुवा गरिएको छ भने अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

गृहमन्त्रीको सचिवालयका कर्मचारीहरूसँग प्रमुख भट्टराईको नियमित सम्पर्क हुने गरेको तथ्य फेला परेपछि सो प्रकरण गृहमन्त्रीसँग जोडिएको हो । शनिबार नै कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्रीले पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउनु नैतिक हुने बताएका थिए । गृहमन्त्री लेखकले पनि राजनीतिक रूपमा नियोजित षड्यन्त्र गरिएको भन्दै आफ्नो नाम जोड्नु झुटा प्रचारबाजी भएको बताएका थिए । आफ्नो संलग्नता देखिए सार्वजनिक राजनीतिक जीवनबाटै राजीनामा दिने उनको भनाइ थियो । मन्त्रालयले समेत मन्त्रीको संलग्नता नभएको भन्दै विज्ञप्ति निकालेको थियो ।

