काठमाडौं । इजरायलले गाजामा आक्रमण गरिरहेको २१ महिनाको अवधिमा मारिएका प्यालेस्टिनीहरूको संख्या ५८ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै १ सयभन्दा बढी मारिएपछि यो संख्या ५८ हजार २६ पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मृतकहरूमा अधिकाँश महिला र बालिबालिका छन् ।

इजरेयलले गरेको पछिल्लो आक्रमणमा ठूलो संख्यामा पानी लिन गएका बालबालिका मारिएको खबर छ । गाजा क्षेत्रमा २१ लाख जनसंख्या रहेकोमा ५८ हजार २६ जना इजरेयली हमलाबाट मारिएका हुन् ।
मृत्यु, बेपत्ता र विस्थापनबाट गाजामा १० प्रतिशत जनसंख्या घटेको छ । गाजाको राजधानी गाजा सिटीको जनसंख्या ८ लाख २३ हजार छ । पूरै प्यालेस्टाइनको जनसंख्या भने ५८ लाख ९० हजार रहेको छ ।
प्यालेस्टिनी इस्लामिक सशस्त्र संगठन हमासले २१ महिनाअघि इजरेयलमा गरेको आक्रमणमा करीब १२ सय जना इजरेयली मारिएपछि इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ ।
मृतक ५८ हजार नाघ्दा गाजाको इजरायली हमलामा घाइते हुनेको संख्या १ लाख ३८ हजार ५ सय २० पुगेको छ । युद्धविराम गर्ने बारम्बारका प्रयास असफल हुँदा इजरालबाट गाजामा आक्रमण र हताहतीको क्रम जारी रहेको छ ।

