काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो । खापुङ आफ्नो ब्याचका एक्ला एआईजी हुन् । अरू एआईजी उनीभन्दा जुनियर हुन् ।

हालका प्रहरी महानिरीक्षक दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाश हुने भएपछि एक साताअघि नै नयाँ आईजीपी नियुक्ति गरिएको हो । नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाने र १८ गते मात्रै फर्किने भएकाले त्यसअघि नै आईजीपी नियुक्त गरिएको हो । खापुङले आगामी कात्तिक २७ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।
खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन् । यसअघि प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा पनि सीआईबीमै कार्यरत रहेका उनी एआईजी भएपछि पनि त्यहीँ पदस्थापन भएका थिए ।

