काठमाडाैँ । प्राध्यापक डा. गोविन्द केसीले सोमबारदेखि आफ्नो २३औँ सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारलगायतका मागसहित उनले २३औँ अनशनको थालनी गरेका हुन् । गेटामा स्थापना हुने भनिएको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै तीनदिने अनशन सुरु गरेको डा. केसीले घोषणा गरे ।

डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले गलत ढंगले निजी मेडिकल कलेजहरूलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय गरेको आरोप लगाएका छन् । उनले तुरुन्त उक्त निर्णय फिर्ता लिन, शुल्कवृद्धि नगर्न, सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तत्काल पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न माग गरेका छन् ।

यस्तै, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी र विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न, ऐनअनुसार मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउने र सरकारी अस्पताललगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्नलगायतका सबै सम्झौता र मागहरू कार्यान्वयन गर्न पनि डा. केसीले माग गरेका छन् ।

त्यस्तै, लिपुलेकमा अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र सो कार्यको सुनिश्चितता गर्न नेपाल सरकारसँग माग डा. केसीले गरेका छन् । उनको मागमा ‘युक्रेन र गाजामा भइरहेको युद्ध बन्द गर्न रुस र इजरायलसमक्ष माग गरिन्छ’ पनि उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय