काठमाडौँ । ‘भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर’ भन्दै सडकमा उत्रिएका जेन–जी पुस्तामाथि सरकारले बर्बरता देखाएको छ । लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा शान्तिपूर्ण रूपमा प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि प्रहरीले ताकीताकी गोली प्रहार गरेर कम्तीमा २० जनाको हत्या गरेको छ भने सयौँ युवा घाइते छन् ।
भ्रष्टाचार, बेथिति, सरकारको निरंकुशता तथा नेताका सन्तानको भड्किलो र विलासी जीवनशैलीविरुद्ध जेन–जी पुस्ताले विद्रोह गरेको हो । नेपालमा पहिलो पटक जेन–जी पुस्ता राज्यको दमनकारी नीति र भ्रष्टाचारविरुद्ध सकडमा उत्रिएको हो । बिहान माइतीघरमा भेला भएका युवाहरू नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि पुगेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीको सुरक्षा घेरा (ब्यारिकेड) तोड्दै युवाहरू संसद् भवन परिसर पुगेका थिए । त्यहाँ पुगेपछि प्रहरीले एक्कासि पानीको फोहरा र अश्रुग्यास हानेपछि उनीहरू पनि उत्तेजित भएका थिए । उनीहरूले संसद् भवन प्रवेश गर्ने २ नम्बर गेट भत्काएर भित्र प्रवेश गरेका थिए भने गेटमा आगोसमेत लगाए । त्यसपछि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको हो ।

युवा पुस्तामाथि राज्यले गरेको दमन २०६२÷६३ मा व्यवस्था नै फाल्ने गरी भएको जनआन्दोलनमा क्रूर र निरंकुश भनिएको राजतन्त्रले गरेभन्दा भयानक भएको राजनीतिक विज्ञहरू बताउँछन् । त्यो बेला १९ दिन भएको आन्दोलनका क्रममा २५ जनाको मृत्यु भएको थियो । तर, सोमबार करिब ४ घन्टाको आन्दोलनका क्रममा कम्तीमा २० जनाको ज्यान गएको हो । विद्यालय पोसाकमै किताबको झोला बोकेर सरकारसँग आफ्नो भविष्यको सुनिश्चितता मागिरहेका जेन–जी पुस्तालाई सरकारले बरु गोली दागेर मृत्यु दियो, तर सुशासन दिन तयार देखिएन । कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ गम्भीर घाइते र ३०० भन्दा बढी घाइते हुँदा पनि सरकार मौन छ । सत्तामा रहनेहरू निरंकुशतातर्फ उन्मुख भएको प्रदर्शनमा सहभागी युवाहरू बताउँछन् । ‘राजतन्त्र फालेर गणतन्त्र ल्याउनुको उपादेयता यही थियो ?’ जेन–जी पुस्ताको प्रश्न छ ।
जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर गरिएको विरोध प्रदर्शनमा सुरक्षा संयन्त्रमाथि पनि प्रश्न तेर्सिएको छ । भ्रष्टाचारमा लिप्त नेताहरूको ‘थ्रेट’मा पूर्वसूचना संकलन गरेर सुरक्षा दिन सक्षम हुने सुरक्षा संयन्त्र किन मौन बस्यो र युवामाथि दमन गर्न किन हिच्किचाएन ? भन्ने गम्भीर प्रश्न उठेको छ । प्रदर्शनमा घुसपैठ भएको भन्दै टाउको नै ताकेर बुलेट बर्साउने प्रहरीमाथि मानवअधिकार हननमा अनुसन्धान हुनुपर्ने अधिकारवादीहरूको माग छ । विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई गोली हान्ने र अस्पलातभित्रै पसेर अश्रुग्यास बर्साउँदै युवामाथि बुट बजार्ने सुरक्षा संयन्त्रले युद्धको बेला अपनाउनुपर्ने सामान्य नियमसमेत मिच्दै शासकको बर्बरतालाई साथ दिएको मानवअधिकार आयोगकी सदस्य लिली थापा बताउँछिन् ।
‘अत्यधिक बल प्रयोग गरेर कहिले हवाई फायर, कहिले रबरको गोली, कहिले लाठी, कहिले फोहरा गरेर प्रदर्शनकारीलाई आक्रोशित बनाउने काम प्रहरी र सरकारबाट भएको छ । सरकारले शान्त रहन, संयमित हुन आह्वान गर्नुपर्ने ठाउँमा उत्तेजित बनायो । रबरका गोली प्रहार भएको भनिए पनि त्यो मात्र होइन,’ थापाले भनिन्, ‘निर्देशन नभई सडकमा हुने प्रहरीले गोली चलाएन होला । चेन अफ कमान्डमा बस्ने प्रहरीले त्यसै गोली चलाउँदैन ।’

