काठमाडौँ । प्रतियोगिताअघि ‘अन्डर डग’ मानिएको लुम्बिनी लायन्सले दोस्रो संस्करणको एनपिएल उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमविरुद्ध ६ विकेटको जित निकाल्दै लुम्बिनीले अप्रत्यासित रूपमा उपाधिमाथि कब्जा जनाएको हो । लुम्बिनीको यो पहिलो एनपिएल उपाधि हो । अप्रत्यासित र चामत्कारिक यसर्थ कि प्रतियोगिताअघि लुम्बिनीलाई उपाधि दाबेदारका रूपमा हेरिएको थिएन ।

गत पहिलो संकरणको प्रतियोगितामा ७ मध्ये १ खेल मात्र जितेर अंकतालिकाको पुछारमा रहेको लुम्बिनीले यो पटक त्योभन्दा केही राम्रो नतिजा मात्र ल्याउने आकलन गरिएको थियो । तर, विपरीत उसले प्रतियोगितामा पुनरागमनको नमुना प्रस्तुत गर्दै दाबेदार मानिएका सुदूरपश्चिम र विराटनगर किंग्सलाई सहजै पराजित गरेर उपाधि जितेको छ ।

रष्ट्रिय टिमको कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी ४ खेल जितेर प्लेअफमा पुगेको थियो । सुरुको खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएर राम्रो सुरुआत गरेको लुम्बिनीले त्यसपछिका ३ खेल लगातार हार्यो । दोस्रोमा कर्णाली याक्ससँग ९ विकेटले, तेस्रोमा काठमाडौँ गोर्खाजसँग २२ रनले, चौथोमा सुदूरपश्चिमसँग ७ विकेटले पराजित भयो । लुम्बिनीले पाँचौँ खेलपछि लगातार जित निकालेर प्लेअफमा स्थान बनाएको हो । पाँचौँमा पोखरा एजेन्जर्सलाई ३ विकेट, छैटौँमा विराटनगरलाई ५ विकेट र सातौँमा जनकपुर बोल्ट्समाथि ४ विकेटको विजय हात पार्यो । यसरी लुम्बिनी कठिन गरी प्लेअफमा पुगेको हो ।

अन्तिम समयमा अन्य टोलीका नतिजासमेत अनुकूल भएपछि मात्र लुम्बिनी चौथो हुँदै प्लेअफमा पुगेको थियो । प्लेअफमा पुगेर इलिमिनेटर खेल्ने मौका पाएको लुम्बिनीले काठमाडौँलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । यसपछि विराटनरलाई ४० रनको भारी अन्तरले जितेपछि लुम्बिनी फाइनलमा पुगेको हो । यो हेर्दा लुम्बिनीको यात्रा क्रिकेट इतिहासकै अप्रत्यासितमध्ये एक देखिन्छ । त्यो त प्लेअफमा पुगेपछि लुम्बिनीका कप्तान पौडेलले आफ्नो टिमलाई उपाधि जित्न कसैले रोक्न नसक्ने ठोकुवा गरेका थिए । उनले अहिले त्यो पूरा गरेका छन् ।

सुदूरपश्चिम दोस्रो पटक उपविजेतामै सीमित

यता, सुदूरपश्चिम रोयल्स भने यस पटक पनि उपविजेतामै सीमित भएको छ । पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साविक उपविजेता सुदूरपश्चिम यस पटक उपाधिको प्रमुख दाबेदार टोली थियो । सुदूरपश्चिमले लिग चरणका ७ मध्ये लगातार ६ खेल जितेको थियो । सुदूरपश्चिम अन्तिम खेलमा भने विराटनगरसँग पराजित भएको थियो ।

साथै सुदूरपश्चिम ६ खेल जित्ने १ मात्र टोली बनेको थियो । लिग टप गरेर पहिलो क्वालिफायरमा गएको सुदूरपश्चिमले विराटनरलाई ७७ रनको भारी अन्तरले पराजित गरेको थियो । यसले सुदूरपश्चिमलाई उपाधिको झनै ठुलो दाबेदार बनाएको थियो । तर, उसले फाइनलमा भने दाबेदारको जस्तो प्रदर्शन गर्न सकेन र लगातार दोस्रो पटक उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय