काठमाडौँ । २१ फागुनमा हुने चुनावमा सहभागी हुने संस्थागत निर्णय गरिसकेको नेपाली कांग्रेसभित्रै प्रतिनिधिसभा पुनस्र्थापनालाई लिएर मतभेद चुलिँदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष भने प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा खुलेर लागेको छ ।
देउवा पक्षीय नेताहरूको बुझाइमा प्रतिनिधिसभा पुनस्र्थापना भए पार्टीको १५औँ महाधिवेशन सार्न सहज हुने र आन्तरिक किचलो व्यवस्थापन गर्न समय मिल्नेछ । यही कारण तत्कालीन सांसदहरूको हस्ताक्षर संकलनलाई तीव्रता दिइएको छ । संस्थापन पक्षले पुनस्र्थापनाको मुद्दामा अन्य साना दललाई पनि साथमा ल्याउने प्रयास गरिरहेको छ ।

तर, पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने केन्द्रीय समितिको निर्णयबाट पछि हट्न नहुने अडानमा छन् । उनीहरू कुनै पनि हालतमा आगामी चुनावमै जानुपर्ने पक्षमा छन् ।
कांग्रेसको केन्द्रीय समिति बैठकले २८ असोजदेखि १५ मंसिरसम्म बसेर वर्तमान राजनीतिक संकटको निकास चुनाव नै भएको निष्कर्ष निकाल्दै चुनावमा भाग लिने निर्णय गरेको थियो । तर, सो निर्णयविपरीत कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित केही नेताले गत २१ मंसिरमा प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
जेनजी आन्दोलनपछि २७ भदौमा नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटन भएलगत्तै महामन्त्री थापालगायत नेताहरूले ताजा जनादेशमा जानुपर्ने धारणा सार्वजनिक गरेका थिए । देउवा पक्षले भने पुनस्र्थापनाका लागि सांसदहरूको हस्ताक्षर संकलन थालेको थियो । पार्टीभित्रै चर्को विरोध भएपछि उक्त प्रक्रिया केही समयका लागि रोकिएको थियो ।
नेकपा एमालेले संस्थागत निर्णय गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित रिट दायर गरिसकेको छ । पछिल्लो समय कांग्रेस र एमालेले बहुमत सांसदको हस्ताक्षरसहित पूरक निवेदन दिने तयारी थालेका छन् ।
एमालेका ७९ र कांग्रेसका ८८ गरी जम्मा १६७ जना तत्कालीन सांसदको हस्ताक्षर संकलन गर्ने तयारी भइरहेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको हस्ताक्षर आवश्यक पर्छ । कांग्रेस महामन्त्रीद्वय गगन–विश्व पक्षधर सांसदहरूले हस्ताक्षर नगरे पनि अन्य दललाई समेटेर बहुमत पुर्याउने रणनीतिमा कांग्रेस–एमाले जुटेका छन् । यसै सन्दर्भमा कांग्रेस र एमालेका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र महेश बर्तौलाबीच भेटवार्ता भएको छ ।
पार्टीभित्रै देउवा पुनस्र्थापनाको पक्षमा किन यति सक्रिय भए भन्ने विषयमा विभिन्न टिप्पणी भइरहेका छन् । जेनजी आन्दोलनपछि पुराना दलहरूलाई आगामी चुनाव चुनौतीपूर्ण हुने आँकलन कांग्रेस र एमाले नेतृत्वको छ । वैकल्पिक शक्तिहरू एकीकृत भएर चुनावी मैदानमा आउने तयारीमा रहेकाले सत्ता गुम्न सक्ने डर देउवामा देखिएको विश्लेषण गरिन्छ ।
प्रतिनिधिसभा पुनस्र्थापना भए पहिलो दलका रूपमा कांग्रेसले सरकारको नेतृत्व गर्ने र आफू प्रधानमन्त्री बन्ने देउवाको आस रहेको पार्टीभित्र चर्चा छ । यही कारण उनले पुनस्र्थापनाको पक्षमा जोडबल गरिरहेको आरोपसमेत लाग्दै आएको छ ।
पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि देउवा पार्टी राजनीतिमा सक्रिय देखिएका छन् । महाधिवेशनको मिति तोक्ने, पार्टी विवाद समाधान गर्ने र राष्ट्रिय राजनीतिमा पहल गर्ने काममा उनी स्वयं लागिरहेका छन् ।
शनिबार पनि देउवाले कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय थापा र शर्मासँग महाधिवेशन, पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिको विषयमा छलफल गरेका छन् । यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।

