विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको भवनबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ।
अस्पतालका निर्देशक दिपेश राईका अनुसार मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी ३४ वर्षीय अमित यादव छन्। उनी नोबेल शिक्षण अस्पतालमै एमबीबीएस इन्टर्नसिप गरिरहेका दसौँ ब्याचका विद्यार्थी हुन्।

आइतबार बिहान करिब साढे ६ बजे यादव अस्पतालको मुख्यद्वारतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेका थिए। खसेर टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्काल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहान करिब साढे ७ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार प्रारम्भिक अनुसन्धानमा यादव आफैँ भवनबाट हामफालेको देखिएको छ। यद्यपि घटनाको सबै पक्षबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

