भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ उम्मेदवार बन्न आकाङ्क्षीहरूले भक्तपुरको गुण्डु क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन्।

समानुपातिक उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत आकाङ्क्षी प्रदीप तिमिल्सिना (साजन) को नेतृत्वमा गुण्डु क्षेत्रमा घरदैलो गरिएको हो। पार्टीले यही पुस ४ गते समानुपातिकतर्फका आकाङ्क्षीहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो ।

रास्वपाले बनाएको मापदण्डअनुसार प्रारम्भिक मतदानमार्फत उम्मेदवार छनोट गर्ने व्यवस्था गरिएको छ। समानुपातिकतर्फका आकाङ्क्षीलाई देशभरका सबै क्षेत्रबाट मतदान गर्न पाउने व्यवस्था गरिएको पार्टीले जनाएको छ।

प्रारम्भिक सूचीमा परेका आकाङ्क्षीहरूसँग रास्वपाले सोमबार सबै प्रदेशमा छलफलसमेत गरेको छ। पार्टीले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक उम्मेदवारका लागि ३५३ जनाले आकाङ्क्षा व्यक्त गरेका छन्।

आन्तरिक छनोटका सबै प्रक्रिया पूरा गरेर पुस १४ गते अन्तिम सूची सार्वजनिक गरिने रास्वपाले जनाएको छ।

गुण्डु क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास रहेको क्षेत्रसमेत हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय