काठमाडौँ । Holiday Inn by IHG र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता कार्यक्रम २०८२ साल पौष ८ गते काठमाडौँस्थित Holiday Inn Resort, Budhanilkantha मा सफलतापूर्वक सम्पन्न भएको छ।

सम्झौतामा क्लब चौलानी लिमिटेडका अध्यक्ष डा. राजेन्द्र के. सी. तथा IHG Hotels & Resorts का दक्षिण एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा आयोजित प्रेस मिटमा सीए दीपक पाण्डेले सञ्चारकर्मीहरूका जिज्ञासामा जवाफ दिएका थिए। सोही अवसरमा परियोजनासँग सम्बन्धित IPO निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा गरिमा क्यापिटललाई नियुक्त गरिएको घोषणा पनि गरिएको थियो।

धनगढीमा निर्माण हुन लागेको Holiday Inn by IHG, Dhangadhi सुदूरपश्चिम प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय होटल चेनअन्तर्गतको पाँचतारे होटल हुनेछ। होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन्।

होटलका प्रमुख सुविधाहरूमा करिब १८,५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहु–परिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सुविधा समावेश हुनेछन्।

परियोजनाको कुल लगानी २२० करोड रुपैयाँ रहेको छ, जसअन्तर्गत करिब ६५ प्रतिशत (रु. १४३ करोड) बैंक ऋण र ३५ प्रतिशत (रु. ७७ करोड) प्रवर्द्धकहरूको स्व–पूँजीमार्फत व्यवस्थापन गरिनेछ।

धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा र जैविक विविधताले सम्पन्न क्षेत्र हो। भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको सीमावर्ती सहर भएकाले यहाँ ठूलो संख्यामा भारतीय पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ। साथै, धनगढी सुदूरपश्चिमका सातै जिल्लाको प्रमुख जङ्क्सनका रूपमा विकास हुँदै गएको सहर हो। होटल स्थल महेन्द्रनगर नजिक र धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ।

Holiday Inn Dhangadhi परियोजनालाई सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय आवास, व्यवसायिक पर्यटन तथा अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुआतका रूपमा लिइएको छ। परियोजनाबाट स्थानीय रोजगारी सिर्जना भई क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। होटल २०८४ सालको सुरुबाट सञ्चालनमा आउने लक्ष्य लिइएको छ।

यस परियोजनाले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य र लगानीको नयाँ मापदण्ड स्थापना गर्दै क्षेत्रीय पर्यटन, व्यवसायिक विकास तथा आर्थिक प्रगतिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय