काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ पुगेका छन् । आइतबार काठमाडौंबाट विमानमार्फत बाराको सिमरा पुगेका सभापति थापालाई कांग्रेस नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए । ठूलो संख्यामा उपस्थित कार्यकर्ताको भीडले सिमरा विमानस्थल क्षेत्र नै उत्सवमय बनेको थियो ।
सोमबार बिहान सिमरा विमानस्थलमा सर्लाही, बारा लगायतका तराईका जिल्लाबाट आएका कांग्रेस कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । नाराबाजी, फूलमाला र स्वागत कार्यक्रममार्फत कार्यकर्ताहरूले सभापति थापालाई स्वागत गर्दै पार्टीभित्रको एकता र उत्साहको सन्देश दिएका थिए ।

काठमाडौंबाट सिमरा पुगेपछि सभापति थापा सवारी साधनमार्फत सर्लाही प्रस्थान गरेका हुन् । वारेसमार्फत सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरिसकेपछि उनी आज पहिलो पटक प्रत्यक्ष रूपमा आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन् ।
कांग्रेसका युवा नेता रघु कार्कीका अनुसार सभापति थापा सिधै आफ्नो निर्वाचन क्षेत्रमा पुगेर स्थानीय कार्यकर्ता र मतदातासँग भेटघाट सुरु गर्ने कार्यक्रमअनुसार अघि बढेका छन् । “सभापति थापा आजैदेखि धनकौलबाट कार्यकर्ता र मतदातासँग प्रत्यक्ष संवाद सुरु गर्नुहुन्छ,” कार्कीले जानकारी दिए ।
कार्यक्रमअनुसार सभापति थापा सर्लाही क्षेत्र नम्बर ४ को धनकौलस्थित क्षेत्रीय कार्यालय पुग्नेछन् । त्यसक्रममा बाटोमा पर्ने विभिन्न स्थानहरूमा आयोजना गरिएका स्वागत कार्यक्रमहरूमा सहभागी हुने कार्यसूची रहेको बताइएको छ । साथै, आफ्नो निर्वाचन क्षेत्रमा रहँदा थापाले विभिन्न स्थानीय तहमा आयोजना हुने अन्तरक्रिया, छलफल र जनसंवाद कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तय गरिएको छ ।
विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसको सभापति बनेका गगन थापा यसअघि निरन्तर काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव जित्दै आएका नेता हुन् । तर, यस पटकको प्रतिनिधिसभा निर्वाचनमा भने उनले आफैंले सर्लाही–४ रोज्दै मधेस केन्द्रित राजनीतिक यात्रा तय गरेका छन्, जसलाई कांग्रेसको राजनीतिक रणनीतिका रूपमा समेत हेरिएको छ ।
सभापति थापाको यस यात्रालाई कांग्रेसले संगठन विस्तार, जनआधार सुदृढीकरण र मधेस केन्द्रित राजनीतिक सन्देशको रूपमा लिएको देखिन्छ ।

