काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने निर्वाचनमा रास्वपाले बहुमत ल्याएर नयाँ इतिहास रच्ने दाबी गर्नुभएको छ।

सोमबार रुपन्देही–१ अन्तर्गत देवदहमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस पटक रास्वपाका उम्मेदवारहरू बहुमतसहित विजयी हुने दाबी गर्नुभयो। छोटो मन्तव्य राख्दै उहाँले पुराना दलहरूले पटक–पटक निर्वाचन जित्दा पनि गर्न नसकेका काम रास्वपाले गरेर देखाउने उद्घोष गर्नुभयो।

सभापति लामिछानेले प्रत्येक निर्वाचन क्षेत्रमा फरक–फरक समस्या रहेकाले तिनको समाधान गर्न रास्वपाका उम्मेदवारहरू सक्षम रहेको बताउनुभयो।

रास्वपाका अनुसार सोमबार रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा सभापति लामिछानेले कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। पार्टीका एक नेताका अनुसार उहाँ बुटवल, भैरहवा, तिलोत्तमा र सैनामैना लगायतका स्थानमा पुग्ने कार्यक्रम छ।

देवदहमा आयोजित कार्यक्रममा रुपन्देही–१ का उम्मेदवार सुनिल लम्सालसहित पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय