काठमाडौँ । टी–२० क्रिकेट विश्वकपअन्तर्गत आज (बिहीबार) नेपाली टोली आफ्नो दोस्रो खेल खेल्दै छ । नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे मुम्बईस्थित वानखेडे रंगशालामा युरोपियन टोली इटालीविरुद्ध नेपाल मैदानमा उत्रिँदै छ । इटाली टी–२० विश्वकपका लागि क्वालिफाई हुँदै पहिलो पटक ठुलो प्रतियोगितामा प्रवेश गरेको टोली हो । वरीयताको २७औँ स्थानमा रहेकाले यो टोली अन्यभन्दा तुलनात्मक रूपमा कमजोर मानिएको छ । टी–२० अन्तर्राष्ट्रियमा हालसम्म नेपाल र इटालीबीच यसअघि भेट भएको थिएन । यसर्थ, यो खेल नेपालका लागि एउटा नौलो अनुभव पनि हुनेछ ।
आज नेपालको ध्याउन्न इटालीलाई हराएर महत्वपूर्ण २ अंक जोड्ने नै रहनेछ । किनकि, बलियो टेस्ट टोली इंग्ल्यान्डसँग साहसिक प्रदर्शन गरेकाले नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रिँदै छ । आज नेपालको लक्ष्य तुलनात्मक रूपमा कमजोर मानिएको इटालीलाई हराएर विश्वकपको सुपर–८ मा पुग्ने सम्भावना जीवितै राख्नु हुनेछ । इटाली यसअघिको खेलमा स्कटल्यान्डसँग ७३ रनको भारी अन्तरले हारेको थियो । यस्तोमा नेपाल इटालीको कमजोर मनोबलको फाइदा उठाउन पनि चाहन्छ ।

नेपालका कप्तान रोहित पौडेलले पनि इटालीलाई हराएर जारी विश्वकपमा आफ्नो पहिलो जित निकाल्नु आफूहरूको लक्ष्य रहेको बताएका छन् । ‘विश्वकपमा इटालीविरुद्धको खेलमा दबाब हुने भए पनि त्यसलाई राम्रोसँग सामना गर्ने क्षमता नेपाली टोलीसँग छ । विश्वकपमा खेल्दा स्वाभाविक रूपमा प्रेसर हुन्छ, सबैले देशका लागि राम्रो खेल्ने अपेक्षा गर्छन् र जसले दबाबलाई राम्रोसँग सम्हाल्छ, त्यो टोली नै जित्ने सम्भावना बढी हुन्छ,’ खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘इटालीसँगको खेलमा हामी राम्रो प्रदर्शन गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा छौँ ।’
२ पटकको टी–२० विश्वकप विजेता तथा वरीयताको तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्ध नेपाल जितनजिक थियो । तर, अन्तिम ओभरको दबाब झेल्ने अनुभव नहुँदा नेपाल पराजित हुन पुग्यो । अब इटालीविरुद्ध भने नेपाललाई यो गल्ती दोहो¥याउने छुट हुनेछैन । नेपाली टोली बलिङमा भरपर्दो मानिन्छ । तर, इंग्ल्यान्डविरुद्ध ब्याटरहरूले देखाएको प्रदर्शनले नेपाल अब ब्याटिङमा पनि कमजोर छैन भन्ने सन्देश दिएको विश्लेषकहरूको भनाइ छ ।
विशेष गरी, ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र लोकश बमले इंग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । बलिङमा इकोनोमीका हिसाबले सन्दीप लामिछाने र विकेटका हिसाबले दीपेन्द्र र नन्दन यादव अब्बल सावित भएका छन् ।
नेपालले यसअघि सन् २०२४ मा पनि विश्वकपमा सहभागिता जनाएको थियो । अधिकांश खेलाडी सोही विश्वकप खेलेका नै भएकाले यस पटक अनुभवले पनि काम गर्ने अपेक्षा गरिएको छ । नेपालले समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो । नेपालले पहिलो पटक सन् २०१४ र दोस्रो पटक २०२४ मा विश्वकप खेलेको थियो ।

