काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी २१ फागुनको प्रतिनिधिसभा चुनावका लागि संकल्प–पत्र सार्वजनिक गरेको छ । राप्रपाले आफ्नो गन्तव्यका रूपमा पृथ्वीपथ अंगीकार गरेको छ भने शासकीय स्वरूपमा राजसंस्थाको पक्षमा उभिएको छ । राप्रपाले देशको समृद्धिका लागि जलस्रोत र विद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि र सुशासन, विदेशमा बस्ने नेपालीको सीप र पुँजीको प्रयोग र निजी क्षेत्र गरी ६ क्षेत्रलाई आधारस्तम्भका रूपमा तय गरेको छ । २०८७ सालसम्ममा मध्यम आयस्तर भएको मुलुक बनाउने राप्रपाको घोषणा छ भने आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याउने लक्ष्य छ ।
राप्रपाले आफ्नो मार्गदर्शक सिद्धान्त पृथ्वीपथ रहेको स्पष्ट पारेको छ । पृथ्वीनारायण शाहले कल्पना गरेको नेपालको परराष्ट्र नीति र नेपालको भूराजनीतिक संवेदनशीलताको यथार्थ विश्लेषण, आत्मनिर्भर अर्थनीति अन्तर्गत निर्यातमुखी अर्थतन्त्र, स्थानीय उत्पादनमा जोड र आयात न्यूनीकरण गर्ने नीति, सर्वमान्य न्यायिक नीति, भ्रष्टाचारविरुद्ध कठोर नीति, पारस्परिक सहकार्यमा आधारित धार्मिक/सामाजिक नीति, मुलुक र जनता केन्द्रित राजनीतिलाई राप्रपाले मूल मान्यताका रूपमा अगाडि बढाउने बताएको छ । राप्रपाले सबल, समृद्ध, र समुन्नत नेपाल आफ्नो दीर्घकालीन सोच भएको भन्दै पुँजी निर्माण, दिगो विकास, शिक्षा ( स्वास्थ्यमा निःशुल्क पहुँच, सामाजिक सुरक्षा, सामाजिक न्याय, समतामूलक समृद्धि, युवाकेन्द्रित उत्पादनमुखी र व्यापक रोजगारी दीर्घकालीन राष्ट्रिय लक्ष्य रहेको स्पष्ट पारेको छ ।


