पोखरा । अन्नपूर्ण केबलकार लिमिटेडले चौथो वार्षिकोत्सव पूरा गरी पाँचौँ वर्षमा प्रवेश गर्दै सामाजिक उत्तरदायित्वका विविध कार्यक्रममार्फत आफ्नो उपस्थिति झन् मजबुत बनाएको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्त्री रोग, दन्त सेवा, क्यान्सर सचेतना तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ। उक्त शिविरबाट ४८ जनाले स्वास्थ्य सेवा लिएका छन् भने २७ जनाले रक्तदान गरेका छन् ।

स्थापनाकालदेखि निरन्तर कार्यरत कर्मचारीहरूलाई सम्मान गर्दै कम्पनीले समुदायसँगको सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटस्थित केबलकार बिहान सूर्योदयदेखि साँझसम्म सञ्चालन हुँदै आएको छ। करिब ९ मिनेटको यात्रामा यात्रुले फेवाताल, लेकसाइड क्षेत्र तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य अवलोकन गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रत्येक सोमबार साँझ हुने आरती दर्शनका लागि कम्पनीले साँझ ५ बजेदेखि ८ बजेसम्म २५० रुपैयाँमा सहुलियत टिकट उपलब्ध गराउँदै आएको छ। पर्यटकको सुविधाका लागि लेकसाइडदेखि केबलकार स्टेशनसम्म निःशुल्क यातायात तथा चितवनबाट आउने यात्रुका लागि समेत आवत–जावतको व्यवस्था मिलाइएको छ।

यसैबीच, कम्पनी आइपिओ निष्कासनको अन्तिम तयारीमा रहेको र अनलाइन टिकट बुकिङसहित सेवासम्बन्धी सम्पूर्ण जानकारी दिने मोबाइल एप सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीका सञ्चालक चन्द बहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय