काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

निर्वाचन आचारसंहिता विपरित क्रियाकलाप गरेको भन्दै प्रसाईंलाई माघ ४ गते पक्राउ गरिएको थियो । त्यसका विरुद्ध माघ ५ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो ।
मंगलबार उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिएको हो । उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
‘प्रसाईंलाई थुनामा राखेको कार्य कानून बमोजिम मान्न मिल्ने नदेखिई प्रसाईको संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रताको हकमा गम्भीर आघात पुगेको देखिन आएकोले रिट निवेदक प्रसाईंलाई अविलम्ब थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ ।
प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गर्दा जरूरी पक्राउ पुर्जी दिएको देखिन्छ । सर्वोच्चले प्रसाईंलाई जरूरी पक्राउ पुर्जीमार्फत पक्राउ गर्नुपर्ने अवस्था समेत नरहेको आदेशमा उल्लेख गरेको छ ।
‘प्रस्तुत विवादमा कानुनबमोजिम जरूरी पक्राउ पुर्जी जारी गर्ने अवस्था स्थापित नै भएको देखिँदैन भने त्यसलाई सामान्यीकरण गरी कार्यन्वयन गर्दै जान पनि हुँदैन, जिल्ला प्रहरी परिसर काठमाडौंबाट जरूरी पक्राउ पुर्जी जारी समर्थनका लागि मुद्दा हेर्ने अधिकारी समक्ष फागुन ५ मा स्वीकृतिका लागि पेस गरेको पत्रमा समेत जरूरी पक्राउ पुर्जी जारी गर्नु परेको कारण उल्लेख भएको देखिँदैन,’ आदेशमा भनिएको छ ।

