रोल्पा । डिभिजन वन कार्यालय, रोल्पाले सार्वजनिक गरेको तथ्याङ्कले वन क्षेत्र जिल्लाको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको देखाएको छ। आइतबार आयोजित अन्तर्क्रिया कार्यक्रममा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म वन पैदावारको बिक्री–वितरणबाट मात्रै करिब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कार्यालय प्रमुख यज्ञमूर्ति खनालका अनुसार वन संरक्षणलाई आयआर्जनसँग जोड्ने नीति प्रभावकारी बन्दै गएको छ, जसले स्थानीयस्तरमै रोजगारी र आम्दानी सिर्जना गरेको छ। जिल्लाको कुल १ लाख ८८ हजार ४६९ हेक्टर क्षेत्रफलमध्ये ५२.८३ प्रतिशत भूभाग वनले ओगटेको छ। ५८८ वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत ५७ हजार हेक्टरभन्दा बढी वन व्यवस्थापन भइरहेको छ, जसबाट ५४ हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

रोल्पामा खोटो (रेजिन) उत्पादन प्रमुख आम्दानीको स्रोत बनेको छ। १३५ सामुदायिक वनबाट संकलित १६२८.९८ मेट्रिक टन खोटोले प्रदेश र स्थानीय तहमा उल्लेखनीय आम्दानी दिलाएको छ भने यसबाट करिब १६ हजार श्रमदिन बराबरको रोजगारी सिर्जना भएको छ। यसैगरी टिमुर, चिराइतो जस्ता जडीबुटी खेतीले पनि वैकल्पिक आयआर्जनको बलियो आधार बनाउँदै लगेको छ। निजी कृषकहरूले ९ करोडभन्दा बढी आम्दानी गर्नु यस क्षेत्रको व्यावसायिकीकरणको संकेत हो।
वन डढेलो नियन्त्रणका लागि सचेतना कार्यक्रम, उपकरण वितरण र दस्ता परिचालन गरिएको छ। साथै, रेडपाण्डा संरक्षण र सिमसार व्यवस्थापनमा जोड दिइनु दीर्घकालीन वातावरणीय सन्तुलनका लागि सकारात्मक कदम मानिएको छ। आगामी दिनमा ६ वटा नर्सरीमार्फत १ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ।
कर्मचारी अभावजस्ता चुनौतीबीच ८ वटा सब–डिभिजन कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ। समग्रमा, रोल्पाको अनुभवले वनलाई संरक्षणसँगै उत्पादन र आयसँग जोड्दा स्थानीय अर्थतन्त्र सुदृढ हुने देखाएको छ। वनबाट प्राप्त आम्दानीको ठूलो हिस्सा स्थानीयसम्म पुग्नु समावेशी विकासको संकेत हो।

