नुवाकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने सूचना सत्य वा हल्ला हो भन्ने छुट्याउन नागरिक स्वयं सचेत हुनुपर्ने बताउनुभएको छ। पछिल्लो समय सरकारले मन्त्रीहरूलाई नयाँ मोबाइल फोन वितरण गर्ने तयारी गरेको भन्ने सूचना पूर्ण रूपमा भ्रामक रहेको उहाँले स्पष्ट पार्नुभयो।
लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत फैलिएको उक्त सूचना कपोलकल्पित भएको उल्लेख गर्दै यस्ता सामग्रीले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भएको बताउनुभयो। उहाँका अनुसार यस्ता भ्रमपूर्ण सूचना गलत नियतका साथ फैलाइएको हुनसक्ने आशंका पनि गरिएको छ।

उहाँले नागरिकलाई कुनै पनि सूचना साझा गर्नु अघि त्यसको स्रोत र सत्यता अनिवार्य रूपमा जाँच गर्न आग्रह गर्नुभयो। पुष्टि नभएका सूचना विश्वास गर्नु र फैलाउनु दुवै गलत हुने भन्दै सचेत नागरिकको भूमिकामा जिम्मेवारी आवश्यक रहेको उहाँको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले वर्तमान सरकार जनताको करबाट संकलित स्रोतसाधनको पारदर्शी र जिम्मेवार उपयोगमा प्रतिबद्ध रहेको बताउनुभयो। जनताको पैसाको दुरुपयोग भएको पाइएमा खबरदारी गर्न पनि उहाँले नागरिकलाई आह्वान गर्नुभयो। “सत्यमा आधारित प्रश्न गर्नुपर्छ, तर सबै सूचना सत्य हुन्छन् भन्ने मान्यता राख्नु उचित होइन,” उहाँले भन्नुभयो।
उहाँले सरकार नागरिकको जीवनस्तर सुधार, सुशासन प्रवर्द्धन र समग्र विकासमा केन्द्रित रहेको उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको बताउनुभयो। कुनै पनि अनियमितता देखिएमा तत्काल छानबिन र कारबाही गरिने नीति अपनाइएको उहाँको भनाइ थियो।
लोकतान्त्रिक व्यवस्थामा जनताको अपेक्षा र आवाजलाई केन्द्रमा राखेर काम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री तिमिल्सिनाले अब परिणाममुखी ढंगले काम गर्ने समय आएको उल्लेख गर्नुभयो। विकास प्रक्रिया क्रमिक हुने भएकाले दीर्घकालीन सोच आवश्यक रहेको भन्दै तत्काल चमत्कारको अपेक्षा नगर्न पनि उहाँले आग्रह गर्नुभयो।

