काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ले करिब १७ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री खरिद प्रक्रियामा मिलेमतो भएको आरोप लागेको छ। प्रतिष्ठानले अघि बढाएको १८ प्रकारका टेन्डरमध्ये एक टेन्डर रद्द गरिए पनि बाँकी करिब १५ करोड रुपैयाँ बराबरको खरिद प्रक्रिया भने संशोधनसहित यथावत् अगाडि बढाइएको छ।

प्रतिष्ठानले २०८२ चैत २० गते अस्पताल उपकरण, औषधि तथा ल्याब सामग्री खरिदका लागि टेन्डर आह्वान गरेको थियो। त्यसमा अस्पतालसम्बन्धी उपकरणतर्फ करिब ७ करोड ३५ लाख, औषधितर्फ ४ करोड ५१ लाख र ल्याब सामग्रीतर्फ ३ करोड ३१ लाख रुपैयाँको खरिद प्रक्रिया समेटिएको छ।

खरिद प्रक्रियामा प्राविधिक मापदण्ड निश्चित उत्पादक कम्पनीलाई फाइदा पुग्ने गरी बनाइएको आरोप छ। केही उपकरणको स्पेसिफिकेशन संशोधन गरिए पनि मुख्य ‘लक्ड’ मापदण्ड यथावत् राखिएकाले सीमित आपूर्तिकर्तालाई लाभ पुग्ने अवस्था रहेको बताइएको छ।

विशेषगरी ‘सी–आर्म मेसिन’, ‘पेशेन्ट वार्मिङ सिस्टम’, ‘ऐनेस्थेसिया वर्क स्टेसन’ र ‘यूएसजी मेसिन’ लगायतका उपकरणको प्राविधिक मापदण्ड सम्बन्धित उत्पादक कम्पनीका क्याटलगसँग मिल्ने गरी तयार गरिएको दाबी गरिएको छ। यसले प्रतिस्पर्धा सीमित गरी निश्चित कम्पनीलाई ठेक्का दिलाउने उद्देश्य रहेको आशंका बढाएको छ।

यो खरिद प्रक्रियामा प्रतिष्ठानका उपकुलपति डा. पूजनकुमार रोकाया, रजिस्ट्रार लक्ष्मीचन्द्र महत तथा सम्बन्धित प्राविधिक र प्रशासनिक संयन्त्रको भूमिका रहेको आरोप सार्वजनिक भएको छ। यद्यपि प्रतिष्ठानले भने ‘लिक्विड वेस्ट म्यानेजमेन्ट सिस्टम’को टेन्डर आवश्यक पूर्वाधारको लागत अनुमान नभएकाले रद्द गरिएको जनाएको छ।

प्रि–बिड बैठकपछि केही मापदण्ड संशोधन गरिए पनि आलोचकहरूले त्यसलाई ‘झारा टार्ने’ प्रयास मात्र भनेका छन्। पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता दोहोर्‍याइरहेको सरकारकै प्रत्यक्ष निगरानीमा रहेको प्रतिष्ठानको खरिद प्रक्रियामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय