काठमाडौं । चुनावी पराजयपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस निर्णायक मोडमा पुगेको छ। अध्यक्ष केपी शर्मा ओलीनिकट मानिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसमेत अब पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन नेतृत्व हस्तान्तरण आवश्यक रहेको निष्कर्षमा पुगेपछि एमालेको आन्तरिक शक्ति सन्तुलन फेरिने संकेत देखिएको छ।

२१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत भएको पराजयपछि अध्यक्ष ओलीमाथि नैतिक जिम्मेवारी लिँदै पद छाड्नुपर्ने दबाब बढ्दै गएको छ। यसअघि इतर समूहले मात्र उठाउँदै आएको नेतृत्व परिवर्तनको बहस अहिले ओलीकै निकट मानिने नेताहरूबाट उठ्न थालेपछि त्यसले विशेष राजनीतिक अर्थ बोकेको छ। पार्टीभित्रका नेताहरूका अनुसार विष्णु पौडेल र शंकर पोखरेलले ओलीलाई भेटेरै सम्मानजनक बहिर्गमनको विकल्पबारे आग्रह गरिसकेका छन्।

स्रोतका अनुसार केही दिनअघि गुन्डुस्थित निवासमा भएको भेटवार्तामा पौडेल–पोखरेलले वर्तमान चुनौती सामना गर्न अन्तरिम संगठन कमिटी गठन गरेर ६ महिनादेखि एक वर्षभित्र महाधिवेशनमा जाने प्रस्ताव राखेका थिए। त्यस अवधिमा केन्द्रीय कमिटीदेखि तल्ला तहसम्मका संरचना पुनर्गठन गरी पार्टीलाई नयाँ स्वरूपमा लैजानुपर्ने उनीहरूको धारणा थियो। तर ओलीले त्यसप्रति सकारात्मक प्रतिक्रिया नदिएको बताइएको छ।

पार्टीका प्रदेश र जिल्ला कमिटीहरूले चैतभित्र पठाएका समीक्षा प्रतिवेदनमा पनि पुनर्गठनको आवश्यकता औँल्याइएको नेताहरूको भनाइ छ। तल्ला तहका कार्यकर्तामा नेतृत्वप्रति असन्तोष बढ्दै गएको निष्कर्ष ती प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ। यसैबीच, पूर्वराष्ट्रपति विद्या भण्डारी र नेता ईश्वर पोखरेल पक्ष पनि पहिले ओलीलाई सम्मानजनक बहिर्गमन गराउने रणनीतिमा देखिएका छन्।

शनिबार काठमाडौंको मीनभवनमा सम्पन्न युवा–विद्यार्थी भेलाले समेत पार्टी पुनर्जागरण, रूपान्तरण र पुनर्संरचनाका लागि अध्यक्षको सम्मानजनक बहिर्गमन आवश्यक रहेको निष्कर्ष निकालेको छ। भेलामा सहभागी नेताहरूले अन्तरिम संगठन कमिटीमार्फत विशेष महाधिवेशनको बाटो खोल्नुपर्ने धारणा राखेका थिए।

यद्यपि, एमालेको औपचारिक निर्णय प्रक्रिया भने अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण प्रभावित बनेको छ। पित्तथैलीको शल्यक्रियापछि देखिएको संक्रमण र हल्का निमोनियाका कारण ओली अझै कम्तीमा एक महिना आराममै रहने चिकित्सकले बताएका छन्। यसका कारण चैतमै बस्ने भनिएको केन्द्रीय कमिटी बैठक अनिश्चित बनेको छ।

सचिव पद्मा अर्यालले नेतृत्व परिवर्तनबारे कुनै संस्थागत निर्णय नभएको बताएकी छन्। उनका अनुसार अध्यक्षकै उपस्थितिमा चुनावी समीक्षा गर्ने तयारी भए पनि स्वास्थ्य प्रतिकूलताले तत्काल बैठक बस्ने अवस्था छैन।

एमालेभित्र अहिले एकातिर पुनर्गठन र नेतृत्व हस्तान्तरणको दबाब बढ्दो छ भने अर्कोतिर ओलीनिकट समूहले पार्टी एकता कमजोर पार्ने गरी हतारमा निर्णय गर्न नहुने अडान राखिरहेको छ। यस्तो अवस्थामा आगामी केन्द्रीय कमिटी बैठकले एमालेको भावी दिशा तय गर्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय