बुटवल । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेश ले नेपाल सरकार तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बाट जारी दूध तथा दुग्ध पदार्थसम्बन्धी नीति, निर्देशन र कार्यविधि तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको छ। बजारमा मापदण्ड पूरा गरेका स्वच्छ दुग्धजन्य पदार्थ मात्र बिक्री वितरण सुनिश्चित गर्न यो कदम चालिएको एसोसिएसनले जनाएको छ।

एसोसिएसनका अध्यक्ष थानेश्वर न्यौपाने का अनुसार उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने र दुग्ध बजारलाई व्यवस्थित बनाउने उद्देश्यले यो निर्णय गरिएको हो। दूधको उत्पादन लागतका आधारमा उचित मूल्य निर्धारण गर्ने, लुम्बिनी प्रदेशभर दुग्ध पदार्थको मूल्यमा हुने अनावश्यक उतारचढाव रोक्ने तथा बजारमा मूल्यमा एकरुपता कायम गर्ने निर्णयसमेत गरिएको छ।

अध्यक्ष न्यौपानेले सरकारी मापदण्डको कडाइका साथ पालना गर्दै गुणस्तरमा कुनै सम्झौता नगरी स्वच्छ दुग्ध उत्पादन बजारमा पुर्‍याइने बताए। उनका अनुसार लागत मूल्यलाई आधार बनाएर मूल्य निर्धारण गर्दा किसान र उपभोक्ता दुवै पक्षलाई न्याय हुने विश्वास गरिएको छ।

यसैबीच, नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेश ले आफ्नो वार्षिक टेबल क्यालेन्डर पनि सार्वजनिक गरेको छ। कार्यक्रममा अग्रज दुग्ध व्यवसायी दयाराम भण्डारी, एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष शिव भुसाल लगायतले दुग्ध व्यवसायको वर्तमान अवस्था, गुणस्तर कायम राख्ने आवश्यकता र बजार व्यवस्थापनबारे धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव विजय साकोटा ले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय