किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ । राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत पर्ने उक्त सडक नेपाली सेनाले निर्माण गरेर सोमबार सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरेको हो ।

खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत पर्ने १० दशमलव ८१ किलोमिटर सडकको ट्रयाक खोल्ने तथा स्तरोन्नतिको काम सम्पन्न भएपछि सेनाले उत्तर–दक्षिण (कोशी) सडक योजनालाई जिम्मा बुझाएको हो । आयोजना प्रमुख प्रमुख सेनानी शम्शेरबहादुर सिंहका अनुसार करिब पाँच वर्षको अवधिमा सडक निर्माण सम्पन्न गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा रक्षा मन्त्रालयका उपसचिव रामेश्वर पोख्रेल, प्रेमप्रसाद न्यौपाने तथा उत्तर–दक्षिण (कोशी) सडक योजनाका प्रमुख रामबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो । सेनाले २०७७ फागुन २४ गते सडक निर्माण सुरु गरेको थियो ।
कठिन भूगोल, कडा चट्टान र विकट वातावरणका बीच निर्माण सम्पन्न गरिएको यो सडक स्थानीयका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भएको छ । आयोजनाका प्रमुख गुरुङले चुनौतीपूर्ण परिस्थितिमा सेनाले गुणस्तरीय रूपमा तोकिएको जिम्मेवारी पूरा गरेको बताउनुभयो ।
सडक निर्माणका क्रममा आवश्यक सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो । विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फोर्नुपर्ने भएकाले मन्त्रिपरिषद्को २०७६ भदौ २२ गतेको निर्णयअनुसार सेनालाई निर्माणको जिम्मेवारी दिइएको थियो ।

१६२ किलोमिटर लामो खाँदबारी–किमाथाङ्का सडकखण्डमध्ये उक्त भाग निर्माण सम्पन्न भएसँगै चीन–भारत जोड्ने छोटो मार्गका रूपमा चिनिएको किमाथाङ्का–जोगबनी सडक सञ्चालनतर्फ थप प्रगति भएको छ । सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि सङ्खुवासभा, धनकुटा, तेह्रथुम, भोजपुर, सुनसरी, मोरङ र झापाका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले सडक सञ्चालनसँगै व्यापार–व्यवसाय विस्तार हुने र सीमामा भन्सार कार्यालय स्थापना गरिनुपर्ने माग गरेका छन् । आयोजना कार्यालयका अनुसार हालसम्म सडक निर्माणमा ६२ करोड ३६ लाख ६७ हजार रुपैयाँ खर्च भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय