संघीय सरकारअन्तर्गत मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गर्ने निर्णय प्रशासनिक सुधार र मितव्ययितातर्फको एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । नेपालजस्तो सीमित स्रोतसाधन भएको मुलुकमा सरकारको आकार सानो, चुस्त र परिणाममुखी हुनुपर्छ भन्ने बहस लामो समयदेखि चल्दै आएको थियो । यही सन्दर्भमा सरकारले नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गर्दै मन्त्रालय पुनर्संरचना गर्नु सामान्य प्रशासनिक फेरबदल मात्र होइन, शासन प्रणालीको कार्यक्षमता परीक्षण पनि हो ।

विगतमा पनि विभिन्न अध्ययन समितिहरूले मन्त्रालयको संख्या घटाउन सुझाव दिएका थिए । २०७६ सालमा काशीराज दाहाल नेतृत्वको समितिले १५ मन्त्रालय पर्याप्त हुने निष्कर्ष निकालेको थियो । अहिले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको कार्यदलले १७ मन्त्रालयको सिफारिस गरेपछि सरकारले त्यसैलाई आधार बनाएर संरचना परिवर्तन गरेको देखिन्छ । यसले कम्तीमा सरकार निर्णयविहीन अवस्थामा छैन भन्ने संकेत दिएको छ ।

मन्त्रालय घटाउनुको मुख्य तर्क चालु खर्च नियन्त्रण, दोहोरो जिम्मेवारी हटाउने र निर्णय प्रक्रियालाई छरितो बनाउने हो । वास्तवमा नेपालमा मन्त्री, सचिवालय, सवारीसाधन, कर्मचारी संरचना र प्रशासनिक संयन्त्रमा ठूलो खर्च हुँदै आएको छ । मन्त्रालय धेरै हुँदा कामको दोहोरोपन, अधिकारको अस्पष्टता र समन्वय अभाव पनि बढ्ने गरेको अनुभव छ । त्यसैले समान प्रकृतिका मन्त्रालय गाभ्ने निर्णय व्यवहारिक मान्न सकिन्छ ।

तर, मन्त्रालय घटाउँदैमा सुशासन स्वतः स्थापित हुँदैन । चुनौती कार्यान्वयनमा छ । धेरै जिम्मेवारी एउटै मन्त्रालयमा थुपारिँदा निर्णय प्रक्रिया झन् जटिल बन्ने जोखिम पनि उत्तिकै हुन्छ । उदाहरणका लागि पूर्वाधार, सहरी विकास र खानेपानीलाई एउटै मन्त्रालयमा राख्दा कार्यक्षेत्र अत्यन्त विशाल बनेको छ । त्यस्तै, भूमि, सहकारी र मानव संसाधन जस्ता पृथक प्रकृतिका विषय एउटै मन्त्रालयमा समेटिनुले प्रभावकारी व्यवस्थापनमा प्रश्न उठाउन सक्छ ।

यसबीच विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन हुनु भने सकारात्मक संकेत हो । विश्व डिजिटल अर्थतन्त्र र अनुसन्धानमा केन्द्रित भइरहेका बेला नेपालले पनि नवप्रवर्तनलाई नीतिगत प्राथमिकतामा राख्नु समयसापेक्ष कदम हो । यदि यो मन्त्रालय केवल नामका लागि नभई अनुसन्धान, स्टार्टअप, प्रविधि हस्तान्तरण र युवा आविष्कारलाई प्रोत्साहन गर्ने केन्द्र बन्छ भने यसको दूरगामी प्रभाव पर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय