सिरहा । सिरहा मा सार्वजनिक भएका दुई हत्या घटनाले मधेस क्षेत्रमा अपराधको स्वरूप नयाँ र खतरनाक मोडमा पुगेको संकेत दिएका छन् । सामान्य रिसिइबी, पारिवारिक विवाद र व्यक्तिगत प्रतिशोधका लागि सीमापारबाट भारतीय ‘सुपारी किलर’ बोलाएर हत्या गराउने प्रवृत्ति खुलेपछि सुरक्षा संयन्त्रसमेत गम्भीर बनेको छ ।

प्रहरी अनुसन्धानअनुसार दुवै घटनामा स्थानीय व्यक्तिहरूले भारतीय आपराधिक गिरोहसँग रकमको ‘डिल’ गरी हत्या गराएका हुन् । एउटा घटनामा खेतमै गोली हानी हत्या गरिएको छ भने अर्को घटनामा मन्दिरभित्र सुतेका पुजारीलाई टाउकोमा गोली प्रहार गरिएको थियो ।

पहिलो घटना सिरहा नगरपालिका–१ का ४२ वर्षीय प्रमेन्नाथ यादवको हत्या हो । गत माघ १६ गते आफ्नै खेत जोतिरहेका बेला उनलाई गोली हानी हत्या गरिएको थियो । अनुसन्धानका क्रममा स्थानीय उपेन्द्र यादवसँग रहेको पुरानो रिसिइबीकै कारण भारतीय सुटरलाई तीन लाख रुपैयाँमा हत्या गराउने सम्झौता भएको खुलेको प्रहरीले जनाएको छ । हत्या अघि एक लाख रुपैयाँ अग्रिम दिइएको र घटना सम्पन्न भएपछि बाँकी रकम दिने सहमति भएको प्रहरी स्रोतको दाबी छ ।

दोस्रो घटना जितिया मन्दिर भित्र भएको पुजारी श्यामसुन्दर शर्माको हत्या हो । मन्दिरभित्र सुतेका अवस्थामा रहेका उनलाई टाउकोमा गोली हानी हत्या गरिएको थियो । प्रहरीले स्थानीय हरि ठाकुरले पारिवारिक विवादका कारण भारतीय सुटरलाई ५० हजार रुपैयाँ दिएर हत्या गराएको निष्कर्ष निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा का अनुसार दुवै घटनामा संलग्न भारतीय सुटरहरूको पहिचान भइसकेको भए पनि उनीहरू भारततर्फ लुकेर बसेकाले पक्राउमा चुनौती भइरहेको छ । खुला सीमा, कमजोर निगरानी र पुराना व्यक्तिगत विवादले यस्तो अपराधलाई सहज बनाइरहेको सुरक्षा अधिकारीहरूको विश्लेषण छ ।

यी घटनाले मधेस क्षेत्रमा अपराध अब केवल आवेगजन्य झगडामा सीमित नरही योजनाबद्ध ‘कन्ट्र्याक्ट किलिङ’तर्फ उन्मुख हुँदै गएको स्पष्ट संकेत दिएका छन् । सुरक्षा विज्ञहरूका अनुसार यदि यस्ता गतिविधि समयमै नियन्त्रण गर्न सकिएन भने सीमावर्ती जिल्लाहरूमा संगठित अपराध अझ भयावह बन्न सक्ने खतरा बढ्दै जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय