काठमाडौं । सभामुख डीपी अर्याल ले संसद् बैठकमा पर्चा प्रदर्शन गरिएको विषयप्रति असन्तुष्टि जनाउँदै सांसदहरूलाई मर्यादित ढंगले विरोध गर्न निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा हर्क साम्पाङ सहित श्रम संस्कृति पार्टी का सांसदहरूले पर्चा लिएर सभामुखको आसनअगाडि पुगेर प्रदर्शन गरेका थिए । त्यसपछि सभामुख अर्यालले यस्तो गतिविधि संसद्को मर्यादाविपरीत भएको टिप्पणी गरे ।

उनले संसद् महत्वपूर्ण र सम्मानित थलो भएकाले विरोधका विभिन्न शैली भए पनि मर्यादाभित्र रहेर मात्रै असन्तुष्टि व्यक्त गर्नुपर्ने बताए । “पर्चा देखाएर सदनमा विरोध गर्ने कानुन र नियमावली कसैले दिएको छैन,” भन्दै उनले आगामी दिनमा यस्ता गतिविधि नदोहो¥याउन चेतावनीसमेत दिए ।
सभामुख अर्यालले आफ्नो भनाइलाई आदेशकै रूपमा लिन सांसदहरूलाई आग्रह गर्दै संसद्को गरिमा कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरे ।

