केन्द्रीय कारागार बाट भागेर ४८ घण्टासम्म फरार रहेकी जन्मकैद सजाय भुक्तान गरिरहेकी सपना तामाङ पुनः पक्राउ परेपछि घटनाले सुरक्षा संयन्त्रलाई गम्भीर प्रश्नको सामना गराएको छ । देशकै सबैभन्दा सुरक्षित मानिने कारागारको अग्लो पर्खाल नाघेर फरार भएकी सपना काठमाडौंको असनस्थित प्रेमी समीर श्रेष्ठको कोठाबाट पक्राउ परेकी हुन् ।

बालिका हत्या प्रकरणबाट जन्मकैदसम्म

नुवाकोटको विदुर नगरपालिका निवासी सपना तामाङ २०७७ सालमा रसुवाकी ६ वर्षीया बालिका सुमिना तामाङको अपहरण, लुटपाट र हत्या प्रकरणमा पक्राउ परेकी थिइन् । प्रहरी अनुसन्धानअनुसार बालिकाले कानमा लगाएको सुनको टप लुट्ने क्रममा सपनाले उनलाई फकाएर एकान्तमा लगिन् । लुटपाटपछि घटना सार्वजनिक हुने डरले डोरीले घाँटी कसेर हत्या गरिएको खुलेको थियो ।

बालिकाको शव कालिका गाउँपालिका स्थित नागुर्दुङ भीरको ओडारमा घाँसले छोपिएको अवस्थामा फेला परेको थियो । त्यसपछि प्रहरीले सपनालाई पक्राउ गरी अनुसन्धान गर्दा उनले अपराध स्वीकार गरेकी थिइन् । पछि अदालतले उनलाई अपहरण, शरीर बन्धक, डाँकाचोरी तथा कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो ।

दोस्रोपटक ‘जेल ब्रेक’

सपना यसअघि पनि जेनजी आन्दोलनका क्रममा जेलबाट भागेकी थिइन् । पछि उनलाई पुनः पक्राउ गरी केन्द्रीय कारागारमा राखिएको थियो । तर दोस्रोपटक उनले योजनाबद्ध रूपमा महिला बन्दीगृहभित्र तरकारी राख्ने क्रेट प्रयोग गरी अग्लो पर्खाल चढेर भाग्न सफल भएकी प्रहरीले जनाएको छ ।

प्रारम्भिक बयानअनुसार उनी राति पैदल ठमेल पुगेकी थिइन् । त्यहाँबाट ट्याक्सी चालकको मोबाइल प्रयोग गरेर प्रेमी समीर श्रेष्ठका परिवारलाई सम्पर्क गरेकी थिइन् । त्यसपछि उनी समीरसँग विभिन्न स्थानमा लुकेर बसेकी थिइन् ।

जेलभित्रै प्रेम सम्बन्ध

सपना र समीर श्रेष्ठको चिनजान जेलभित्रै भएको खुलेको छ । समीर आफ्नी आमालाई भेट्न महिला बन्दीगृह जाने क्रममा दुवैबीच परिचय भएको र पछि प्रेम सम्बन्धमा परिणत भएको अनुसन्धानमा देखिएको छ । प्रहरीले सपनालाई लुकाउन सहयोग गरेको आरोपमा समीरलाई समेत नियन्त्रणमा लिएको छ ।

सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न

देशकै मुख्य कारागारबाट एकपछि अर्को पटक कैदी भाग्न सफल हुनु सुरक्षा व्यवस्थामाथिको गम्भीर कमजोरीका रूपमा हेरिएको छ । विशेषगरी जन्मकैद सजाय भोगिरहेकी कैदीले योजनाबद्ध रूपमा पर्खाल नाघेर भाग्नुले कारागार प्रशासनको निगरानी, संरचना र व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

हालको कानुनी व्यवस्थाअनुसार जन्मकैदको सजाय २५ वर्ष भए पनि जेल तोडेर भागेको कसुर थपिएपछि सपनाको सजाय अझ बढ्ने देखिएको छ । प्रहरीले घटनामा कारागारभित्रको सम्भावित सहयोग, सुरक्षा कमजोरी तथा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय