काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालय ले वैशाख २९ गतेदेखि आजसम्मको एक साताको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ९० जना सवारीचालक तथा अन्य व्यक्तिमाथि कारबाही गरेको जनाएको छ । उक्त कारबाहीबाट एक करोड १८ लाख ६ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ ।
उपत्यकामा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरवाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले नियमित चेकजाँच, निगरानी र विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ६२९ जना, राइड सेयरिङसम्बन्धी नियम उल्लङ्घन गर्ने एक हजार ३६ जना, रातो बत्ती उल्लङ्घन गर्ने एक हजार २८२ जना र तीव्रगतिमा सवारी चलाउने ७७८ जना कारबाहीमा परेका छन् ।
त्यसैगरी, लेन मिच्ने ५४०, सडक फुटपाथ अतिक्रमण गर्ने ६४०, ‘नो हर्न’ क्षेत्र उल्लङ्घन गर्ने एक हजार ६४६ तथा एकतर्फी सडकमा सवारी प्रवेश गराउने ७६२ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रवक्ता सुवेदीले ट्राफिक कारबाहीको उद्देश्य केवल राजस्व सङ्कलन नभई नागरिकलाई सुरक्षित यात्रा सुनिश्चित गर्नु र सडक दुर्घटना न्यूनीकरण गर्नु रहेको बताए । विशेषगरी मापसे, तीव्रगति, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा सिग्नल उल्लङ्घन गर्ने गतिविधिविरुद्ध कडाइ गरिएको उनले उल्लेख गरे ।

