काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको विषयलाई लिएर नेकपा (एमाले) भित्र गम्भीर मतभेद सतहमा आएको छ । भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकमा बहुमत पदाधिकारीहरूले ओलीलाई अध्यक्ष पदबाट हटेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन दबाब दिएका छन् । तर ओलीले भने कुनै पनि अवस्थामा नेतृत्व नछाड्ने अडान लिएको बताइएको छ ।
बैठकमा महासचिव शंकर पोखरेल सहित अधिकांश शीर्ष नेताहरूले वर्तमान नेतृत्वबाट पार्टीलाई प्रभावकारी रूपमा अगाडि बढाउन कठिन भएको धारणा राखेका थिए । सहभागी नेताहरूका अनुसार पोखरेलले उपाध्यक्षहरूको धारासँग सहमति जनाउँदै पार्टी पुनर्गठन आवश्यक भएको संकेत गरेका थिए ।

यसअघि बसेको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्त ले ओली नेतृत्वकै कारण पार्टी कमजोर बनेको र निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको टिप्पणी गरेका थिए । उनीहरूले कार्यकर्तामा निराशा बढ्दै गएको भन्दै नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए ।
छलफलका क्रममा नेताहरूबीच चर्काचर्कीसमेत भएको स्रोतहरूको दाबी छ । ओलीले आफ्ना आलोचक नेताहरूको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएको र केही नेताले त्यसलाई धम्कीपूर्ण शैलीको रूपमा व्याख्या गरेका छन् । उपाध्यक्ष गुरुङले एमाले कुनै व्यक्तिको निजी संस्था नभई लोकतान्त्रिक पद्धतिमा चल्ने कम्युनिस्ट पार्टी भएको भन्दै नेतृत्व हस्तान्तरणको आवश्यकता औँल्याएका थिए ।
बैठकमा सचिव महेश बस्नेत भने ओलीको पक्षमा खुलेर उभिएका थिए । उनले ओलीविरुद्ध नेतृत्व परिवर्तनको माग उठाउने नेताहरूको आलोचना गर्दै अध्यक्षको बचाउ गरेका थिए । तर सचिवालयका अधिकांश सदस्यहरूले भने पार्टीभित्र पुनर्गठन र नेतृत्व परिवर्तनको पक्षमा धारणा राखेका बताइएको छ ।
यसैबीच नेतृ अष्टलक्ष्मी शाक्य ले पनि बैठकमै ओलीको राजीनामा माग गर्दै एमाले कुनै व्यक्तिको पेवा नभएको बताएकी छन् । उनले पार्टी लाखौँ कार्यकर्ताको त्याग र बलिदानबाट बनेको संस्था भएकाले अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखिन् । शाक्यले गुटगत सोच र दम्भले पार्टी कमजोर बनेको टिप्पणी गर्दै विचार, सामूहिकता र इमानदार नेतृत्वको आवश्यकता औँल्याइन् ।
उपमहासचिव लेखराज भट्ट ले बैठकमा नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने र कार्यकर्तामा देखिएको निराशालाई सकारात्मक ऊर्जामा बदल्नुपर्ने सुझाव दिएको जानकारी दिएका छन् । सचिवालय बैठक आज पनि जारी रहने बताइएको छ ।

