काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा उनी आगामी १८ देखि २० जेठसम्म भारत भ्रमणमा जान लागेका हुन् । रास्वपा स्रोतका अनुसार भ्रमण निश्चित भइसकेको छ भने परराष्ट्र मन्त्रालयले आवश्यक तयारी अघि बढाएको छ ।
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठन भएको सन्दर्भमा सत्तारुढ दलका शीर्ष नेताको भारत भ्रमणलाई नेपाल र भारत दुवैतर्फ अर्थपूर्ण रूपमा हेरिएको छ । भ्रमणले नेपाल–भारत राजनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । रास्वपाको तर्फबाट भारतमा हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो भने सभापति लामिछानेका लागि पनि पार्टी प्रमुखको हैसियतमा पहिलो भारत भ्रमण हुनेछ ।

तीनदिने भ्रमणमा को–कोसँग भेट ?
२०७९ असार ७ मा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा २१ सिट जित्दै चौथो शक्तिको हैसियत बनाएको थियो । सभापति लामिछाने उपप्रधानमन्त्रीसहित दुईपटक गृहमन्त्री बनेका थिए । पछिल्लो २१ फागुनको निर्वाचनमा भने रास्वपाले १८२ सिट जित्दै पहिलो दल बनेर एकल सरकार गठन गरेको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह गत १३ चैतमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।
भ्रमणका क्रममा लामिछानेले भाजपा अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गराउने तयारी भइरहेको स्रोतको दाबी छ । यद्यपि ती भेटवार्ताको अन्तिम टुंगो लागिसकेको छैन ।
भ्रमण टोलीमा रास्वपाका सांसदद्वय विपिन आचार्य र दीपक बोहोरा पनि सहभागी रहने बताइएको छ । उनीहरू लामिछानेसँग सञ्चारकर्मको समयदेखि नै निकट रहँदै आएका तथा पार्टीका संस्थापक नेतामध्येका हुन् ।
प्रधानमन्त्रीको भ्रमण नटुंगिँदा रविलाई निम्ता
प्रधानमन्त्री बालेन्द्र शाह नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका थिए । तर हालसम्म प्रधानमन्त्री शाहको भारत भ्रमण तय हुन सकेको छैन । भारत सरकारले नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट हुने परम्परा कायम राख्न चाहेको बुझिएको छ ।
यसैबीच प्रधानमन्त्रीको भ्रमण अनिश्चित बनेपछि सत्तारुढ दलका सभापति लामिछानेलाई निमन्त्रणा गरिएको विश्लेषण गरिएको छ । पूर्वराजदूत लोकराज बरालले नेपाल–भारतबीच पार्टीगत सम्बन्ध विस्तारका लागि यस्तो भ्रमण महत्वपूर्ण हुने बताएका छन् ।
उता सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाह कार्यव्यस्तताका कारण विदेश भ्रमणमा नगएको दाबी गरेका छन् । उनका अनुसार सभापति लामिछानेको भारत भ्रमण पार्टीगत प्रकृतिको हो र प्रधानमन्त्रीको भ्रमणसँग यसको प्रत्यक्ष सम्बन्ध छैन ।
Improve accuracy for documents and research
Upgrade to Plus and use the latest Thinking model to synthesize documents, research, files, and complex information.

