काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारत भ्रमणका क्रममा आज भारतीय जनता पार्टी (भाजपा) का उच्च नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएको छ।
भाजपाको निमन्त्रणामा नयाँ दिल्ली पुगेको रास्वपाको टोलीले भाजपा मुख्यालयमा पार्टीका वरिष्ठ नेताहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ। भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, राजनीतिक अनुभव आदानप्रदान, दलगत सहकार्य तथा आपसी हितका विषयमा केन्द्रित रहेर विचारविमर्श हुने बताइएको छ।

रास्वपाका अनुसार नेपाल र भारतका राजनीतिक दलबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, लोकतान्त्रिक अभ्यासका अनुभव साटासाट गर्ने तथा साझा चासोका विषयमा संवाद बढाउने उद्देश्यले भ्रमण आयोजना गरिएको हो।
सभापति लामिछाने नेतृत्वको टोली सोमबार नयाँ दिल्ली प्रस्थान गरेको थियो। भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटसमेत हुने अपेक्षा गरिएको छ।
रास्वपाले यस भ्रमणलाई दुई देशका राजनीतिक दलबीच समझदारी, सहकार्य र सम्बन्ध विस्तारका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

