महोत्तरी। महोत्तरीको गौशाला नगरपालिकामा कार्यरत आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरेपछि नगरपालिकाका कर्मचारीहरूले आन्दोलन घोषणा गर्दै सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका छन्।
नगरपालिकाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बिहीबार साँझ करिब ५ बजे कार्यालयमा ड्युटीमा खटिएका नगर प्रहरीहरूलाई कुनै पूर्वसूचना वा समन्वयबिना नेपाल प्रहरीको टोलीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको जनाएको छ।

नगरपालिकाले उक्त घटनाप्रति गम्भीर आपत्ति जनाउँदै स्थानीय सरकारअन्तर्गत कार्यरत कर्मचारीहरूको सुरक्षामाथि प्रश्न उठेको उल्लेख गरेको छ। विज्ञप्तिमा पक्राउ परेका नगर प्रहरीलाई तत्काल रिहा गर्न तथा नगरपालिकामा कार्यरत कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
सहकर्मीहरूको पक्राउको विरोधमा नगरपालिकाका कर्मचारीहरूले पेन–डाउन आन्दोलन सुरु गरेका छन्। उनीहरूले पक्राउ परेका नगर प्रहरीको अविलम्ब रिहाइ तथा कर्मचारीहरूको सुरक्षाको सुनिश्चितता नभएसम्म सेवा प्रवाह नगर्ने निर्णय गरेका छन्।
कर्मचारीहरूको आन्दोलनसँगै गौशाला नगरपालिकाको केन्द्रीय कार्यालय, सबै वडा कार्यालय, नगरभित्र रहेका स्वास्थ्य संस्था तथा सम्पूर्ण सामुदायिक विद्यालयबाट प्रदान गरिने सेवा अनिश्चितकालका लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ।
यस घटनाबारे नेपाल प्रहरीको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।

