काठमाडौं । देशका विभिन्न भागमा मनसुनी वर्षा सक्रिय भएसँगै आठ जिल्लाका साना नदी तथा खोला किनारका बस्तीमा बिहीबार आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। विभागले ती क्षेत्रका नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै बिहीबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन–चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।
यसैगरी मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशका पहाडी जिल्लामा भने केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेकाले पहिरो, डुबान र आकस्मिक बाढीको जोखिम बढ्न सक्ने विभागले चेतावनी दिएको छ।
विभागले नदी किनार, पहिरोको जोखिम भएका स्थान तथा सडकमार्गमा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

